एन्फा गेटअघि क्लबहरूको प्रदर्शन

 संवाददाता    २०८२, २ चैत्र सोमबार १४:१४     30 जनाले पढ़िसके



Spread the love

अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालै सार्वजनिक गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।

एन्फाले चैत ३० गतेदेखि सहिद स्मारक ए डिभिजन लिग गर्ने तयारी गरेको छ। नेपाल फुटबल खेलाडी संघसँगको वार्तामा लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको थियो। त्यहिअनुरुप एन्फाले क्लबहरूलाई पत्राचार गरेको थियो।

तर, क्लबहरूले यो सहमतिलाई एकलौटी भन्दै विरोध जनाएका हुन्। यसैबीच, क्लबहरुले पत्रकार सम्मेलन गर्दै विभिन्न माग अघि सारेका छन्।

जसमा एन्फा र ए डिभिजन क्लबबीच लिगको सम्बन्धमा मिति २०८२/०७/१७ गते भएको कार्यतालिका सहितको सहमति कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय लिग चालु रहि रहेको अवस्थामा ट्रान्सफर विन्डो खुल्ला नगरि कसरी अर्को क्लबमा खेलाडी सम्झौता गर्न सकिन्छ? तसर्थ क्लबको सम्झौता अनुसार कार्य गर्नुपर्ने, विदेशी खेलाडीहरूको हकमा विन्डो खुला गरी एकद्वार प्रणालीबाट परमिट लिने व्यवस्था अबिलम्ब गर्नुपर्ने माग राखेका छन्।

यस्तै, एन्फाले समयमै निर्णय गरि १४ वटा क्लबको सहभागिता सुनिश्चितता गर्नुपर्ने, लिग सम्बन्धी प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिश्चितता गरि क्लबसँगको सहमतिमा मात्र लिगको मिति तय गर्नुपर्ने माग पनि राखेका छन्।