राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा समेटिएका नेपाली क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सांसदको सिफारिसमा भने पर्न सकेनन् । रास्वपाले समानुपातिकमा पुरुषतर्फ ९ जनामात्रै सांसद बनाउन सक्ने सीमा रहेकाले उनी नअटाएका हुन् ।
मल्ललाई आदिवासी जनजातिको क्लस्टरमा पाँचौ नम्बरमा राखिएको थियो । यस क्लस्टरबाट तीनजना समानुपातिक सांसद बनेका छन् । आफू सिफारिसमा छुटे पनि उनको कुनै गुनासो भने छैन । मल्लले सामाजिक सञ्जालमा स्टाटस लेख्दै व्यक्तिगत स्वार्थभन्दा देशको हित महत्वपूर्ण भएको बताएका छन् ।
उनी भन्छन्, ‘क्रिकेटबाट मैले सिकेको कुरा मैदानभित्रको टीम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन । खेल व्यक्तिगत रेकर्डका लागि होइन, टीमको जितका लागि खेलिन्छ । त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
मल्लले यस निर्वाचनमा देशको समृद्धिका लागि मत लगानी गर्ने सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिएका छन् । उनले आफूलाई सम्झेकोमा रास्वपा परिवार, कुमार दाइ (कुमार बेन) र बालेनप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
‘म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु । किनकि अन्त्यमा, व्यक्तिको हार–जित भन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो,’ उनले लेखेका छन् ।