नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतकी बालिका इनिशा विकको बलात्कारपछि हत्या घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै यो घटनाले मर्माहत भएको नजाएका छन्। ‘सुर्खेतमा सोह्र वर्षीय बालिका इनिशा बिक माथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मलाई मर्माहत बनाएको छ,’ उनले भनेका छन्, ‘मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
यससँगै उनले सरकार र सरोकारवाला निकायको पनि ध्यानाकर्षण गराएका छन्। ‘घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न म सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछु,’ प्रचण्डले भनेका छन्।
फागुन १६ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा इनिशाको हत्या गरिएको थियो। यसमा संलगन रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले बताए। यसमा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको उनले बताए।
प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन्। पीडित परिवारले दिएको जाहेरीका आधारमा शवपरीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शवपरीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ। प्रतिवेदनअनुसार जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ।
गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेतमा बस्दै आएकी इनिशा स्थानीय स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन्। परिवारका अनुसार उनी फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।
तर बिहान ९ बजेतिर स्थानीयले जनजागरण सामुदायिक वनमा अचेत अवस्था भेटिएका थिए। उनलाई प्रहरीले प्रदेश अस्पताल सुर्खेत कालागाउँ पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तले यही फागुन २५ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका थिए।