जेन-जी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलगायतले विशेष पूजा गरी सुपरमार्केट पुन: सञ्चालनमा ल्याइएको हो ।
आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको सुपरमार्केटको भवन करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माणपश्चात भाटभटेनीआजबाट सर्वसाधारणका लागि खुला गरिएको छ ।
आन्दोलनको निशानामा योसहित देशभरका १२ वटा स्टोर परेका थिए । २४ गते आन्दोलनकारीहरूले तोडफोड, लुटपाट र आगजनी मच्चाउँदा अर्बौंको संरचना हेर्दाहेर्दै खरानी भयो । ती भवनभित्र भाटभटेनीका करोडौंका सामानमात्र जलेनन्, लुटपाट र आगजनी गर्न जाँदा जलेका मानिसको पहिचान समेत हुन सकेन ।
केही दिनअघि मात्र कोटेश्वरको भाटभटेनी पुनर्निर्माणपश्चात सञ्चालनमा आइसकेको छ ।
पुनर्निर्माण गरिएका स्टोरको प्रवेशद्वारमा मीनबहादुरले हात तोडेको तस्बिरसँगै जल्दै गरेको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र भाटभटेनीको दृश्य त्यहाँ समेटिएको छ । त्यहाँ लेखिएको छ- ‘हे भगवान् ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।’
पाँच दिनसम्म बलिरहेको भाटभटेनीको भवन अब पुनः बन्न वर्षौँ लाग्ला कि भन्ने धेरैको अनुमान थियो । तर, गुरुङले हिम्मत हारेनन् । बरु पुनर्निर्माणमार्फत आशाको दियो बालिदिए । क्षतिग्रस्त संरचनालाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याउँदै ‘देश बन्दैन’ भन्ने निराश भाष्यलाई उनले व्यवहारबाटै जवाफ दिएका छन् ।