अनेरास्ववियुले ‘हिल साम्बा’ अभियान सुरु गर्‍यो, देशभर सहयोग संकलन गरी हस्तान्तरण गर्ने

 संवाददाता    २०८२, १२ फाल्गुन मंगलवार १४:०२     144 जनाले पढ़िसके



Spread the love

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को सहयोगका लागि ‘हिल साम्बा’ अभियान सुरु गरेको छ।

राष्ट्रका लागि समर्पित खेलाडीलाई संकटको घडीमा साथ दिने भन्दै अनेरास्ववियुले आजैदेखि ‘हिल साम्बा’ अभियान थालेको अध्यक्ष दीपक धामीले जानकारी दिए।

भोलिदेखि देशभर अनेरास्ववियुका तहगत कमिटीलाई सक्रिय रुपमा परिचालन भई पारदर्शी र उत्तरदायी ढंगले सहयोग संकलन अभियान थाल्न पनि उनले निर्देशन दिएका छन्।

अखिलले सम्पूर्ण खेलप्रेमी, सुभेच्छुक संघ–संस्था तथा नागरिकहरुलाई यस अभियानमा सहयोग गर्न अपिल समेत गरेको छ।

साम्बाले सोमबार घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन्। उनको अपिलसँगै साम्बालाई आर्थिक सहयोग गर्नेहरुको क्रम जारी छ।

साम्बाको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट)दुवैमा गम्भीर क्षति पुगेको जनाउँदै यसका लागि पुनः जटिल शल्यक्रिया आवश्यक रहेको उनले बताएकी छन्।