
बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरूले विश्वासका आधारमा कर्मचारीमार्फत क्यासिनोलाई दिएको ऋण फिर्ता नपाएको बताएका छन्। क्यासिनोले नियमित कारोबारका लागि स्थानीय व्यवसायी तथा सेवाग्राहीबाट रकम लिने गरेको उनीहरूको भनाइ छ।
क्यासिनोका सञ्चालक व्यवसायी नरेन्द्र साह हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बनेका छन्। चुनावी अभियानकै क्रममा उनीमाथि कञ्चनपुरमा ऋणीहरूको रकम फिर्ता नगरेको तथा कर्मचारीलाई तलब नदिएको आरोप सार्वजनिक भएको हो।
क्यासिनोमा लामो समय काम गरेका राजेन्द्र कुमारले आफूले दिएको १० लाख रुपैयाँ फिर्ता नपाएको बताए । उनका अनुसार तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठ (हिमाल) मार्फत आर्थिक समस्यामा परेको भन्दै क्यासिनोलाई उक्त रकम ऋण दिएका थिए। “व्यक्तिगत विश्वासका आधारमा सहयोग गरेको हुँ, तर अहिले पैसा माग्दा सञ्चालकले अटेर गरिरहेका छन्,” उनले भने।

त्यस्तै क्यासिनोमा पुजारीको काम गर्दै आएका भोजराज भट्ट(पुजारी बाजे)ले ३४ लाख रुपैयाँ फिर्ता नपाएको दाबी गरेका छन्। ‘क्यासिनोले बेला–बेला रकम सापटी लिने र समयमै फिर्ता गर्ने गथ्र्यो।’ “त्यही विश्वासका आधारमा तीन पटकमा गरि ३४ लाख रुपैयाँ सापटी दिएको हुँ,” उनले बताए ।
त्यस्तै क्यासिनोमा डान्स म्यानेजरको रूपमा कार्यरत नवराज श्रेष्ठले पनि ४० लाख रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेका छन्। उनले आठ लाख नगदसहित १७ महिनाको डान्सरहरूको तलब नपाएको बताएका छन्। उनले सञ्चालक साहसँग पैसा माग्दा जागिर छोडेर जान धम्की दिने गरेको उनको आरोप छ । क्यासिनोमा ठुलो पैसा डुबेकाले आफुले जागिर समेत छोड्न नसेको उनको दुखेसो छ ।

तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठका अनुसार सञ्चालक साहले २०८१ भदौयता नियमित हिसाब नबुझेपछि समस्या उत्पन्न भएको हो। “क्यासिनोमा नगद अभाव हुँदा स्थानीय व्यवसायी तथा विश्वासिला सेवाग्राहीबाट सापटी लिएर कारोबार चलाउने गरेका थियौँ। पछिल्ला १७ महिनामा सञ्चालकले मासिक हिसाब लिएनन्। उहाँकै निर्देशनमा उठाइएको रकम पठाइएको हो,” उनले भने । सापटी लिएको रकम क्यासिनोको नियमित खर्च र सञ्चालक साहले मागेका बेला उनकै खाता पठाईएको उनको दावि छ ।

श्रेष्ठका अनुसार विभिन्न व्यक्तिहरूको ठूलो रकम क्यासिनोले तिर्न बाँकी छ । शान्ती पाण्डेयको ३९ लाख, लिल गुरुङको ३४ लाख, मानवती पालको २० लाख, गणेश टेरको २० लाख, कविता जोशीको १८ लाख, राम पन्तको १५ लाख लगायत २० जनाको गरी कुल पाँच करोड २९ लाख रुपैयाँ बाँकी रहेको उनले बताए।
यस्तो छ श्रेष्ठले क्यासिनोलाई दिएको तिर्नुपर्ने ऋणीको रिर्कड
त्यस्तै भारतीय नागरिक सञ्जीव गान्धीको २९ लाख र सदाबको २० लाखसहित करिब दुई करोड ३६ लाख रुपैयाँ समेत तिर्न बाँकी रहेको उनको भनाइ छ । जसमा केही रकम भने फिर्ता गरिएको छ ।
यस विषयमा सञ्चालक साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। हाल क्यासिनोको व्यवस्थापकीय टिममा कार्यरत एक कर्मचारीले साह चुनावी अभियानमा व्यस्त रहेको बताए । साथै उनले पूर्व म्यानेजर श्रेष्ठले नै सापटी रकम हिनामिना गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको बताए । क्यासिनोले श्रेष्ठले क्यासिनोका नाममा पैसा उठाएर कराडौँ रुपयाँ हिनामिना गरेको आरोप लगाउँदै आएको छ ।
साह २०७९ मा सर्लाही–३ बाट माओवादी केन्द्रका उम्मेदवार बनेका थिए। भने यस पटक उनी रास्वपाबाट उम्मेदवार बनेका हुन्।

सर्लाही–३ मा नेकपाका तर्फबाट पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले) का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका नेता विनोदकुमार खनाललगायत ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
