कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने

 काँग्रेस     २०८२, ४ माघ शनिबार १८:१५     106 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार नयाँ बानेश्वरमा बसेको बैठकमा गरिएका ६ बुँदे निर्णय सार्वजनिक गरेको छ । सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन तयारी र पूर्वसभापति शेरबहादुर देउवाको भूमिका लगायतका विषयमा निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेअनुसार, कांग्रेसले निर्वाचन आयोगको निर्णयलाई कसैको जीत वा हार होइन, विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ ।

बैठकले देउवाले लामो समयदेखि पार्टी नेतृत्वमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा उनीबाट अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

कांग्रेसले अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएको छ । बैठकले पार्टी मूल्य र मान्यतामा अडिग रहँदै संविधानको रक्षा गर्ने र नवयुवाको आकांक्षालाई सम्बोधन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले फागुन २१ गते हुने निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सहभागी हुन सबै तहका समिति तथा भ्रातृ संस्थाहरूलाई आह्वान गरेको छ ।

यसलाई ‘रूपान्तरण, एकता र विजयको नयाँ अध्याय’को रूपमा लिनु पर्ने भन्दै विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका सबैलाई पुनः जोडिन आग्रह गरिएको छ ।निर्वाचन आयोगले शुक्रबार दोस्रो विशेष महाधिवेशनको निर्णयलाई वैधानिकता दिएको यो बैठकले परिवर्तनमा साथ दिने सबैप्रति आभार व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिएका छन्।