दिनहुँ महँगो मूल्यको रेकर्ड बनाउँदै सुनचाँदी

 संवाददाता    २०८२, १ माघ बुधबार ११:०५     84 जनाले पढ़िसके



Spread the love

आज पनि सुनचाँदीकै मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड कायम गरेको छ।

मंगलबार तोलामा एक हजार आठसय बढेको सुनको मूल्य आज फेरि एक हजार पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको दुई लाख ७८ हजार रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।

सोमबार सुनको भाउ तोलामा चार हजार एकसय बढेको थियो। मंगलबार एक हजार आठसय रुपैयाँ बढेर सुनको भाउ तोलाको दुई लाख ७६ हजार पाँचसय रुपैयाँ पुगेको थियो।

आइतबार सुनको भाउ तोलामा दुई हजार आठसय बढेको थियो। त्यसअघि गएको शुक्रबार पनि सुनको भाउ तोलामा दुई हजार एकसय बढेको थियो।

गएको बुधबार र बिहीबार दुई दिन लगातार घटेको सुनको मूल्य शुक्रबारदेखि लगातार बढिरहेको छ। पाँच दिनमा सुनको भाउ तोलामा १२ हजार तीनसय रुपैयाँ बढिसकेको छ।

त्यसैगरि आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च बनेको छ। तोलामा ३१५ रुपैयाँ बढेर चाँदीको भाउ आज पाँच हजार ६ सय ५५ रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै महँगो हो।