सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंक लुट्नको लागि लुटेराहरु काभ्रेबाट गएका खुलेको छ।
मंगलबार राति करिब आठ बजेर ४० मिनेट जाँदा घ्याङलेख गाउँपालिका २ बस्तिपुरमा रहेको एसबीआई बैंकबाट तीन करोड १० लाख ९५ हजार २८३ रपैयाँ लुटिएको प्रहरीले जनाएको छ।
‘लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार पाँचसय रुपैयाँ नगद हामीले जंगलमा फालेको अवस्थामा बरामद गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘लुटिएको केही रकम बरामद भए पनि लुटेरा भने फरार भएका छन्। हामी उनीहरुको खोजी गरिरहेका छौँ।’
चार–पाँच जनाको संख्यामा रहेका लुटेराले रातको समयमा बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेर घाइते बनाएर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेका हुन्।
लुटेराले खुकुरी प्रहार गर्दा सुरक्षागार्ड रुद्र कार्की घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
लुटेराहरु सवार गाडी र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
‘लुटिएको अरु रकम लुटेराले नै लगे कि के भयो हामी अनुसन्धान गर्दैछौँ। बैंकका कर्मचारीले काउन्टरबाट तीन करोड १० लाख ९५ हजार२८३ रुपैयाँ लुटिएको दाबी गरेका छन्,’ सुवेदीले भने, ‘झण्डै डेढ किलो मिटर टाढा जंगलमा फालेको अवस्थामा रकम बरामद भएको हो। गाडी भने घटनास्थलभन्दा १ किमी जति पर फेला परेको छ।’
लुटेराहरूले काभ्रेको बनेपाबाट रिजर्भ गरेर लगेको बीएड-०३९८ नम्बरको टाढा सुमो गाडीसहित त्यसका चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको छ।
‘लुटेराले रिजर्भ गरेर लगेको गाडी र त्यसका चालक बनेपा-१० घर भएका भवत सिंह थापालाई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी सुवेदीले भने, ‘लुटेराहरूको खोज तलाससहित थप अनुसन्धान जारी छ।’
पक्राउ परेका गाडी चालक थापाले आफूले लुटेराहरुलाई नचिनेको दाबी गरेका प्रहरीले जनाएको छ। बैंक जंगल नजिकै रहेको कारण लुटेरालाई सहज भएको प्रहरीले जनाएको छ।