हिमालयन बैंक लिमिटेडका ६ जना संस्थापक शेयरधनीले राखे शेयर बिक्रीमा

 संवाददाता    २०८२, २८ पुष सोमबार १२:२८     60 जनाले पढ़िसके



Spread the love

हिमालयन बैंक लिमिटेडका ६ जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेका छन् । बैंकले विभिन्न मूल्य तोकी संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८१ को निर्देशन नम्बर १० बमोजिम संस्थापक शेयर खरिदका लागि पहिलो प्राथमिकता हालका संस्थापक शेयरधनीलाई दिइनेछ । इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कानुन विभाग काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र हालका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सूचना अनुसार शेयर बिक्री गर्न चाहने संस्थापक शेयरधनीहरूमा जीत कुमार श्रेष्ठ, घनमान बज्राचार्य, जयन्तकुमार अग्रवाल, हरि प्रसाद प्रसाईँ, महेन्द्र नाथ कर्माचार्य र तुलसी राम नेपाल रहेका छन् । उनीहरूले बिक्रीमा राखेको शेयर सङ्ख्या फरक-फरक रहेको छ ।

जीत कुमार श्रेष्ठको नाममा रहेको २० हजार ४८२ कित्ता, घनमान बज्राचार्यको १९ हजार ४९२, जयन्तकुमार अग्रवालको एक सय कित्ता, हरि प्रसाद प्रसाईँको ५ हजार २८८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २९७ कित्ता र तुलसी राम नेपालको ७ हजार ४०९ कित्ता बिक्रीमा राखिएको छ ।

संस्थापक शेयरको बिक्री मूल्य सम्बन्धित शेयरधनी अनुसार फरक-फरक रहेकाले विस्तृत जानकारीका लागि कानुन विभागमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।