सरकारको वैदेशिक मुद्रा सञ्चिति ३२ खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर मसान्तसम्म ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ बराबरको डलर सञ्चिति रहेको हो।
यो भनेको १२ अर्ब १३ करोड अमेरिकी डलर हो। गत असार मसान्तसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेकोमा मंसिरसम्म आइपुग्दा सञ्चिति १९.६ प्रतिशतले वृद्धि भएको हो।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन्।
२०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।