नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलिन्टियर्स फोर्स’लाई टोलटोलसम्म गठन गर्न निर्देशन दिएका छन्।
गत मंसिर ५ मा एमालेले पुष्पराज श्रेष्ठको नेतृत्वमा भोलिन्टियर्स फोर्स घोषणा गरेको थियो। जेनजी र युवालाई समेटेर फोर्स गठन गरिएको थियो। मंगलबार एमाले कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले फोर्सलाई टोलटोलमा पुर्याउन निर्देशन दिएको एक सचिवालय सदस्यले बताए।
‘प्रत्येक तहमा युवा सक्रिय परिचालन गर्दै टोल–टोलमा नेसनल युथ भोलिन्टियर्स फोर्स गठन गुर्नपर्छ,’ ओली बैठकमा भनेको कुरा उद्धृत गर्दै ती सदस्यले भने।
आगामी फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचन सार्न षड्यन्त्र भइरहेको ओलीको भनाइ थियो। त्यसमा सरकार र विदेशी शक्ति लागिरहेको उनको आरोप थियो।
त्यसका विरुद्ध भोलिन्टियर्स फोर्स परिचालन गरेर चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्नुपर्नेमा ओलीले जोड दिए। ‘निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्छ,’ ओलीको थप भनाइ थियो।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी रहेको छ। बैठकमा आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भइरहेको छ।
प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकिएको छ। त्यस्तै, राष्ट्रिय सभाका १८ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदै छ।