किशोरीलाई करणी गरेको अभियोगमा वडा सचिव जेल चलान

 संवाददाता    २०८२, २० पुष आईतवार १६:०८     81 जनाले पढ़िसके



Spread the love

मोरङको सुनवर्षी नगरपालिकामा कार्यरत वडा नम्बर २ का वडा सचिव ईश्वरराज रेग्मीलाई किशोरीलाई बलात्कार गरेको अभियोगमा अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।

अदालतको आदेशपछि रेग्मीलाई कारागार चलान गरिएको छ । सुनवर्षी नगरपालिका-२ का वडा सचिव ३१ वर्षीय रेग्मीलाई जिल्ला अदालत मोरङले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी थुनामा राख्ने आदेश दिएको हो ।

खोटाङको ऐँसेलु खर्क गाउँपालिका-७ स्थायी घर भएका रेग्मीलाई प्रहरीले मङ्सिर २१ गते पक्राउ गरेको थियो । उनीमाथि कक्षा १० मा अध्ययनरत १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ। प्रहरीका अनुसार मङ्सिर १४ गते राति रेग्मीले बालिकालाई आफ्नै कोठामा राखी बलात्कार गरेको भन्दै पीडित पक्षबाट जाहेरी परेको थियो ।

घटनाका दिन बालिका साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएकी थिइन् । भोलिपल्टसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीमा खबर गरेका थिए । त्यसपछि सुरु गरिएको खोजतलासका क्रममा बालिकालाई फेला पारिएपछि गरिएको सोधपुछबाट घटनाका बारेमा थाहा भएको प्रहरीले जनाएको छ

प्रहरीले जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक प्रमाण संकलन गरी अनुसन्धान पूरा गरेपछि मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सोही आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङमा रेग्मीविरुद्ध मुद्दा दायर गरेको हो ।

अदालतमा प्रतिवादी रेग्मीको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीका तर्फबाट थुनछेक बहस भएको थियो । थुनछेक बहस सम्पन्न भएपछि अदालतले अभियुक्तलाई थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी बुढाथोकीले बताए ।