महेश बर्तौला फेरि मकवानपुर-२ बाट सिफारिस, तर सुवासचन्द्र ठकुरीको चुनौती

 संवाददाता    २०८२, २० पुष आईतवार १३:४२     110 जनाले पढ़िसके



Spread the love

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर-२ बाट नेकपा एमालेले दुई जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ।

एमाले मकवानपुर जिल्ला कमिटीले मकवानपुर-२ का लागि पार्टीका प्रमुख सचेतक भइसकेका नेता महेश बर्तौला र संविधान सभा सदस्य सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको हो।

बर्तौला २०७९ को प्रतिनिधि सभा निर्वाचनमा त्यही क्षेत्रबाट विजयी भएर सांसद बनेका थिए। त्यतिबेला उनले पाँचदलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार बढी मतान्तरले हराएका थिए।

जिल्ला कमिटीले पठाएको नाम प्रदेश कमिटी हुँदै एमालेको केन्द्रमा पुग्नेछ।

केन्द्रीय कमिटीले दुईमध्ये एक जनालाई मकवानपुर-२ को उम्मेदवार बनाउनेछ।

दुई जनाको नाम सिफारिस गरिए पनि अन्तिममा पार्टीले बर्तौलालाई उम्मेदवार बनाउने सम्भावना बलियो रहेको मकवानपुर एमालेका केही नेताको दाबी छ।

बर्तौलालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छ।