बिहानैदेखि वीरगञ्जको स्थिति तनावग्रस्त भएपछि प्रदेशका ८ वटै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। झडप हुन सक्ने सम्भावित स्थान पहिचान गरी ती क्षेत्रमा बाक्लै सुरक्षाकर्मी परिचालन गरिएका छन्।
टिकटकबाट सुरु भएको विवाद धनुषाबाट वीरगञ्ज सरेपछि सुरक्षा सतकर्ता बढाइएको हो।
केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको प्रहरीले जनाएको छ।
केही दिनअघि धनुषा जिल्लाको जनकपुर क्षेत्रमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले एउटा विवादस्पद भिडियो टिकटकमा अपलोड गरेका थिए। उक्त भिडियोले धार्मिक सहिष्णुता बिगारेको भन्दै स्थानीयले ती दुई युवाले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए।
यस विषयमा इलाका प्रहरी कार्यालय खजुरीमा छलफल भइरहँदा पक्राउको विरोध गर्ने र पक्राउको समर्थन समूहबीच झडप भएको थियो। विवाद केन्द्र धनुषाको खजुरी र जनकपुर क्षेत्र हो।
यो घटनाको विरोध र समर्थनमा सामाजिक सञ्जालमा भइरहेका बहसहरुले वीरगञ्जका युवा आन्दोलित भएका हुन्। आइतबार बिहानैदेखि वीरगञ्जको घण्टाघर र आसपासका क्षेत्रमा युवाले टायर बालेर प्रदर्शन गरे।
‘स्थिति नियन्त्रणमा लिन वीरगञ्जमा प्रहरीले लाठीचार्ज गर्नुपर्यो’, नेपाल प्रहरी, मधेश प्रदेश प्रमुख डिआईजी गोविन्द थपलियाले भने, ‘सुरक्षा चुनौती बढेपछि प्रदेशभरि नै सुरक्षा सतर्कता बढाइएको छ।’
धनुषा र पर्सामा देखिएको अशान्तिको विषय टिकटकबाट फैलिएको हो। सामाजिक सञ्जालमा व्यक्त विषयले धार्मिक, साम्प्रदायिक भावनामा चोट पुर्याएपछि दुवै पक्ष सडकमा उत्रिएका हुन्।
नेपाल प्रहरी मधेश प्रदेशका प्रमुख डिआईजी गोविन्द थपलियाका अनुसार अहिले स्थिति नियन्त्रणमा छ। घटनामा संलग्न केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। ‘स्थानीय धार्मिक समुदाय, राजनीतिक दलसहितसँग समन्वय गरी सामाजिक सद्भाव नबिथोल्न अपिल गरिरहेका छाैँ’, डिआईजी थपलियाले भने, ‘झडप हुनसक्ने सम्भावित ठाउँ पहिचान गरी ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।’