‘झरीपछिको इन्द्रेणी’ हेरेपछि विनोद चौधरी : म फिल्ममा आउने सम्भावना छ

 संवाददाता    २०८२, १८ पुष शुक्रबार १२:१४     83 जनाले पढ़िसके



Spread the love

उद्योगपति विनोद चौधरीले फिल्म ‘झरीपछिको इन्द्रेणी’ को प्रशंसा गरेका छन् । फिल्म हेरिसकेपछि उनले यो फिल्म हेर्दा आफूलाई आफूले यसअघि निर्माण गरेको फिल्म ‘वासुदेव’ को सम्झना गराएको बताए ।

इमान्दार कर्मचारी कसरी भ्रष्टाचारीको फन्दामा पर्छ र भ्रष्टाचार नियन्त्रण कसरी गर्नेजस्ता महत्वपूर्ण विषय फिल्मले उठाएको भन्दै उनले प्रशंसा गरे ।

 

युवामा कसरी परिवर्तन आउँछ, उसले कसरी देशलाई नै परिवर्तन गर्नसक्छ भन्ने कुरा कथामा रहेको र त्यो आफूलाई मन परेको उद्योगी चौधरीले बताए ।

‘यसमा जसरी जेनजीलाई प्रस्तुत गरिएको छ, त्यो नै जेनजी हो भन्ने कुरालाई व्यापक बनाउनुपर्छ,’ उनले भने, ‘कताकता जेनजीको मुभमेन्टलाई विथोल्ने पनि जन्मिए, त्यसको म आफैँ पीडित हुँ ।’

 

‘झरिपछिको इन्द्रेणी’ हेर्दा आफू पनि संलग्न भएको सिनेमा ‘बासुदेव’को सम्झना भएको बताए । ‘हामीमा विदेश जाने, विदेशमा सबैथोक हुुन्छ भन्ने मानसिकता छ । यता परिवार घरमा हुन्छ । घरमै बसेर पनि गर्न सकिन्छ भन्ने सन्देश मनपर्‍यो’ उनले भने, ‘धेरै कुरा समेट्नु भएको छ । हरेक कलाकारको एक्टिङ मलाई मनपर्‍यो ।’

सबैले हेर्नुपर्ने फिल्म बनेको भन्दै उनले भने, ‘यो फिल्म सबैलाई देखाउनुपर्छ । यस्तै काम गर्दै जानूस, शुभकामना छ ।’
उनले आफूले फिल्म बनाउने सम्भावना रहेको पनि बताए । आफूले पहिला पनि फिल्म बनाएको र एकपटक बनाएपछि त्यसको सधैँ माया हुने बताए । आफूले सिनेमा क्षेत्र कर्पोरेटाइज हुनुपर्ने धारणा राख्दै आएको उनले बताए ।

नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ ।

फिल्ममा गणेश उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य लगायतको अभिनय छ । निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको यो फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् ।

फिल्मको निर्माण अनिशा सेन्दाङ लिम्बुले गरेकी हुन् ।