प्रहरीले ५ सय माग्दा नदिएपछि गोली हानेको सफारी चालककी पत्नीको आरोप

 संवाददाता    २०८२, १८ पुष शुक्रबार १०:४४     140 जनाले पढ़िसके



Spread the love

सुनसरीको कोशी गाउँपालिका-१, पुरी टोलका विजय साह सफारी चलाउँथे । यही पेसाबाटै परिवारको गुजारा चलाउँदै आएका उनी नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीको गाेलीकाे निसामा परे । साहकाे मृत्युसँगै परिवारको जीविकोपार्जनमा संकट आइपरेको छ । उनकी पत्नी गीता गृहिणी हुन् । उनीहरुका दुई छोरा र एक छोरी छन् । एक छाेरा अपाङ्गता भएका छन् ।

घटना के हो ?

साह बस्दै आएको पुरी टोल भारतीय छोटी भन्सार लौकहीसँगै छ । यहाँबाट भारतको बेलाह बजार नजिकै पर्छ । बेलाह बजारबाट व्यापारीहरूले भन्सार छलीका सामान आयातनिर्यातको धन्दा बढेको कयौँ पटक खुलिसकेको छ । २०७८ असारमा सोही नाकामा दुई ट्रक चिनियाँ स्याउ बरामद भएको थियो । यहाँ एपीएफको सीमा सुरक्षा पोष्ट छ ।

बुधबार राति ११ बजेतिर खाना खाएर साहले सफारी निकाले । बेलाह बजार पुगे र चिनीलगायतका सामान लिएर फर्किए । सामान पुर्‍याएपछि उनी फेरि बेलाह गए । श्रीमती गीताका अनुसार दोस्रो पटक सामान लिएर आउँदा ड्युटीमा रहेका सशस्त्र प्रहरीले उनलाई रोके । प्रहरीले पैसा माग्दै सामान रोकेपछि १२ बजेतिर पतिले फोन गरेको गीता बताउँछिन् ।

घट्नास्थल पुगेका पत्रकारहरूसँग गीताले भनिन्, ‘उहाँसँग फोनमा बोल्दा प्रहरीले पैसा मागेर विवाद गरिरहेको सुनेकी थिएँ । ५ सय मागिरहेको प्रष्ट सुनिन्थ्यो । गाडी साइड लगाउन भनिरहेका थिए । त्यही बेला ड्याङ्ग गोली चल्यो, त्यसपछि बोल्नुभएन ।’

घट्नास्थल मृतकको घरबाट करिब ३ सय मिटरको दूरीमा छ । पति नबोलेपछि गाउँलेसहित खोजी गर्न जाँदा साह भुइँमा ढलेका भेटिए । गोली लागेर ढलेका साहको आफूहरू पुग्नुअघि नै मृत्यु भइसकेको गीताको दाबी छ ।

विजयको प्र १ ०२-००३ ३३१७ नम्बरको सफारीमा ७ बोरा चिनी, २ कार्टुन चक्लेट र अन्य सरसामान थियो । साहको छातीमा गोली लागेको थियो । उनले कुन व्यापारीका लागि सामान ल्याएका हुन् भन्ने खुलेको छैन । सुनसरीका सीडीओ वासुदेव घिमिरेले विजय ‘भरिया’ मात्र भएको र उनले कसको सामान ल्याएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

राति ११ बजेपछि ‘लाइन’ खुल्ने दाबी

सो नाकाबाट तस्करीका सामान वारपार गर्न राति ११ बजेपछि ‘लाइन’ खुल्ने गरेको स्थानीय बताउँछन् । सशस्त्र प्रहरीले रकम लिएर राति ११ देखि १ बजेसम्म सामान ओसारपसार गर्न दिने गरेको उनीहरूको आरोप छ । सो अवधिमा यस क्षेत्रका क्यारिअर (भरिया) हरूले इटहरी र इनरुवा क्षेत्रका व्यापारीका सामान वारपार गर्ने गर्थे । यसरी सामान ल्याउँदा प्रतिपटक ५ सय रूपैयाँ ड्युटीमा रहेका प्रहरीलाई बुझाउने गरेको उनीहरू बताउँछन् ।

‘यहाँ नियमित रूपमा लाइन खुल्छ । लाइन खुलेका बेला भरियाको रूपमा काम गर्नेहरू सामान लिन भारतीय बजार बेलाह पुग्छन्’, एक स्थानीय भन्छन् । सो नाकाबाट सामान वारपार गर्ने भरियाहरू २ सयभन्दा बढी रहेको उनीहरूको दाबी छ । सामान बोकेर ल्याउँदा मागबमोजिमको पैसा दिन आनाकानी गरेपछि विवाद भएको र सोही क्रममा सशस्त्र प्रहरीले गोली हानेको उनीहरूको आरोप छ । यसअघि पनि पैसा दिन नमान्दा कुटपिट हुने गरेको तर यस पटक भने गोली नै हानिएको जिकिर उनीहरूको छ ।

आक्रमण भएपछि प्रतिकार: डीआईजी न्यौपाने

सशस्त्र प्रहरी वराह बाहिनीका प्रमुख डीआईजी कुमार न्यौपानेले भने ड्युटीमा रहेका प्रहरीलाई अज्ञात समूहले गोली हानेपछि प्रतिकार गर्दा विजय साहको ज्यान गएको दाबी गरेका छन् । उनले अज्ञात समूहले पहिला गोली चलाएको बताए ।

उनका अनुसार रातिको समयमा दुईवटा अटो र एउटा सफारीमा सामान लिएर आएको देखेपछि सशस्त्र प्रहरीले रोकेका थिए । अटो रोक्दा उल्टै आक्रमण भएपछि बाध्य भएर प्रतिकारका लागि गोली चलाउनुपरेको उनको भनाइ छ । गोली चलाएपछि अटो चालकहरू भागेको र सफारी चालकलाई भने गोली लागेको उनले बताए ।

डीआईजी न्यौपानेले पहिला आक्रमण भएको दाबी गरे पनि घट्नास्थलमा तस्करीमा संलग्न भनिएकाहरूको तर्फबाट चलाइएको गोलीको खोका भेटिएको छैन । त्यहाँ दुईवटा खोका भेटिएका छन्, जुन दुवै सशस्त्र प्रहरीले चलाएको गोलीको भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पुष्टि गरे ।

न्यौपानेले तस्करले ‘हिट एन्ड रन’ गरेको दाबी गर्दै थप अनुसन्धान भइरहेको बताएका छन् । उक्त घटनाको छानबिनका लागि सुनसरीका सहायक सीडीओको संयोजकत्वमा छानबिन समिति बनाइएको छ ।