राजनीतिमा गायक तथा अभिनेता प्रकाश सपुतको इन्ट्री धेरैको लागि ‘सरप्राइज’ बनेको छ। किनकी यसअघि सपुत राजनीतिमा आउनेबारे अनुमान समेत गरिएको थिएन। अरु सेलिब्रिटीको नाम चर्चामा रहे पनि प्रकाशबारे भने केही पत्तो समेत थिएन।
आफ्ना गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्दैं आएका प्रकाश बेलाबखत विवादमा परिरहन्छन्। कहिले सिर्जना त कहिले अभिव्यक्तिका कारण उनले दर्शकबाट गाली र आलोचना पाउँछन् । यद्यपि, उनलाई माया गर्ने दर्शकनै भएका भने होइनन्।
गत फागुन ताका प्रकाश आफ्नो डेब्यु निर्देशन र लगानी रहेको फिल्म बसन्तको प्रचारमा व्यस्त थिए। सोहीबेला उनलाई तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लेखिएको किताबको पुस्तक विमोचन कार्यक्रमको लागि निम्तो गरियो। ‘केपी ओली: सपना, संघर्ष र सङ्कल्प’ पुस्तक विमोचन कार्यक्रमका पुगेका उनले ओलीबारे तारिफका शब्द खर्चिए।
‘सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेहरूका लागि केपी शर्मा ओलीज्यूजको जीवन साँच्चिकै प्रेरणादायी छ। उहाँको जीवनको ग्राफलाई मात्रै हेर्ने हो भने पनि जीवनमा असम्भव केही हुन्न रहेछ भन्ने प्रेरणा लिइरहेको हुन्छु,’उनले भनेका थिए।
त्यसपछि त के चाहियो र? ओलीको प्रशंसा गर्दा सपुतले निकै गाली खानुपर्यो। कलाकार निष्पक्ष हुनुपर्ने बताउँदै उनलाई एमालेको झोले समेत ‘ट्याग’ लागेको थियो। यतिसम्मकि उनको ‘बसन्त’ लाई बहिष्कार गर्नुपर्ने प्रतिक्रिया समेत आएको थियो। जसको असर फिल्म ‘बसन्त’ लाई समेत पर्यो। किनकी यो फिल्म बक्सअफिसमा नराम्ररी चिप्लियो
तर, यतिखेर तिनै सपुत रवि लामिछानेको पार्टीबाट राजनीतिमा आएका छन्। समानुपातिक उम्मेदवार बनेका उनी दलित पुरुषतर्फको सूचिको दोस्रो नम्बरमा परेका हुन्।
गायनमा निकै चर्चित भएका सपुत अभिनयमा ठिकै चले। उनी अभिनीत परदेशी २, पूर्णबहादुरको सारंगीले राम्रो व्यापार गरे। पछिल्लो फिल्महरु बसन्त र सोल्टिनीले भने कमजोर व्यापार गरे।
तर, निर्देशन र निर्माणमा भने उनी जम्न सकेनन्। पहिलो डेब्यु निर्देशकीय फिल्ममै चुके। ‘बसन्त’ बक्सअफिसमा असफल भयो। करिअरमा ठूलो झट्का लागेसँगै सपुत २ वर्षपछि सांगीतिक कर्मतिरै फर्किसकेका छन्। किनकी उनी मंसिरयता सांगीतिक कार्यक्रममा व्यस्त छन्।
अब सपुत राजनीतिमा कति सफल होलान्? त्यो भने आउँदो निर्वाचनको नजिताले नै बताउँला।