रसुवागढी नाकामा आइतबारदेखि आवतजावत सुरु

 संवाददाता    २०८२, १४ पुष सोमबार १२:४४     75 जनाले पढ़िसके



Spread the love

गएको असार २४ गतेदेखि बन्द रहेको रसुवागढी नाकामा आइतबारदेखि आवतजावत सुरु भएको छ। आइतबार बिहानदेखि नै नेपाली ट्रकका चालक केरुङतर्फ जान सुरु गरेका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनको सीमामा रहेको ल्हेन्दे खोलामा बेलीब्रिज निर्माण सकिएको जानकारी दिए।

उनले यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने जानकारी चिनियाँ समकक्षीले गराएको बताए।

गत २४ असारगते अगाडि सामग्री लिन केरुङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत आइतबार केरूङतर्फ प्रस्थान गरेका सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए।

ल्हेन्देखोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै रसुवागढी नाकाबाट व्यापार व्यवसाय ठप्प छ। गत वर्षको तुलना यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व २० अर्ब नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए।

चिनियाँ पक्षले जारी गरेको सूचनामा आइतबारदेखि सीमापार ढुवानीमा संलग्न यात्रुलाई प्रवेश दिन सुरु गरिएको उल्लेख छ। साथै सबै विदेशी व्यापारिक प्रतिष्ठानले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाल चालक तथा कर्मचारीले प्रवेशअघि नै आवश्यक तयारी, सवारीसाधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ।

आगामी बिहीबारदेखि भन्सार कार्यालयले भित्रिने तथा बाहिरिने सवारीसाधनको निरीक्षण गरेपछि मात्र आवागमनको अनुमति दिने व्यवस्था गरिएको छ। यस अवधिमा एकतर्फी पालैपालो प्रणाली कडाइका साथ लागु गरिने चिनियाँ पक्षले जनाएको छ।

सीमाक्षेत्रमा सडक कालोपत्रेको काम जारी रहेकाले जनवरी १ देखि जनवरी ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग गरिने छ।

चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बनेसम्म आवागमन खुला रहने र बाँकी समयमा दुवैतर्फबाट सवारी आवगमन नियन्त्रण गरिने चिनियाँ पक्षले जनाएको छ।

जनवरी ८ पछि भने चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सामान्य भन्सार समयभन्दा एक घण्टा बढी सवारीसाधन प्रवेशका लागि खुला हुनेछ।

त्यसैगरि दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म अस्थायी रूपमा आवागमन सञ्चालन गरिने छ। चिनियाँ लगानीमा निर्माण भएको मितेरी पुल २०७२ सालको भूकम्पछि जीर्ण बनेको थियो।