कांग्रेसको कारबाही मिनाहा भए पनि बहालको पद कायम नरहने

 संवाददाता    २०८२, १४ पुष सोमबार ११:२४     92 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूको कारबाही मिनाहा गरे पनि बहाल पद कायम नरहने भएको छ ।

कांग्रेसले शनिबार अनुशासनविपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निस्कासन, निलम्वन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको थियो ।

 

केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयनका लागि पार्टीले मातहतका कार्यसमितिहरूलाई आइतबार गरेको परिपत्रमा कारबाही मिनाहा भए पनि बहाल पद कायम नरहने उल्लेख छ ।

‘कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको पार्टीको बहाल पद नरहने गरी क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ,’ परिपत्रमा भनिएको छ ।

 

तर, शनिबार केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा अनुशासनको कारबाहीमा पर्दाका बखतको पदबारे केही उल्लेख गरिएको थिएन ।

‘कारबाही माफी/मिनाहा भएका व्यक्तिहरुको पार्टीको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ,’ शनिबारको बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।

बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासनविपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको थियो ।