निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय संशोधन नहुने जनाएको छ।
आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बन्दसूचीको समय संशोधन गर्दा निर्वाचन कार्यक्रमनै बिथोलिने बताए। ‘आयोगले झिनामसिना कमी कमजोरीलाई सच्याएर यसो गर्नुस् भनेर राखिदिन्छ। तर, बन्दसूचीको समय नै परिवर्तन गर्ने, थप्ने घट्ने जस्ता विषयवस्तुहरू सुरु गर्यौँ भने फागनु २१ गतेको निर्वाचनलाई धक्का पर्नेसम्मको क्रिया उत्पन्न हुन सक्ने हुनाले सकभर हामी यसलााई संशोधन गर्ने अवस्थामा छैनौँ,’ भण्डारीले भने, ‘संशोधन गर्यौँ भने निर्वाचनलाई बिथोल्छ भन्ने हाम्रो बुझाइ छ।’
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दीसूची बनाउने समय पुस १३ र १४ गते तोकेको छ। त्यसका लागि राजनीतिक उम्मेदवारको सूची बनाउनमा जुटेका छन्। प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते तोकिएको छ।
अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्नभन्दा आयोग धेरै अघि पुगिसकेको भण्डारीको भनाइ थियो। ‘निर्वाचन हुन्छ कि हुदैन कि? कस्तो हुन्छ भन्ने विषयको छलफल अब सकियो। अब हामी त्यो बाटोमा प्रवेश गर्दैनौँ,’ उनले भने, ‘हामी निर्वाचनको बाटोमा धेरै अगाडि बढिसक्यौँ। अब फर्किनसक्ने अवस्था र स्थिति छैन।’