मन्त्री घिसिङको सयदिने कार्य प्रगति : तोडिए सडक, सिँचाइ र सहरी विकासका ६६ रुग्ण ठेक्का

 संवाददाता    २०८२, १० पुष बिहीबार १४:३१     86 जनाले पढ़िसके



Spread the love

सिँचाइ, सडक र सहरीतर्फ रुग्ण अवस्थामा पुगेका मध्ये ६६ वटा रुग्ण ठेक्का तोडिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै सोबराबरको ठेक्का तोडिएको जानकारी दिएका हुन् । तोडिएका ठेक्का सम्झौता रकम साढे १६ अर्ब हाराहारी छन् । त्यसमा सबैभन्दा ठुलो ठेक्का सुनकोशी मरिण डाइभर्सन आयोजनामा तोडिएको छ । विभिन्न सिभिल निर्माण गर्न रमण पटेलसँग गरिएको १४ अर्ब १२ करोड हाराहारीको ठेक्का तोडिएको छ ।

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका ३३ वटा रुग्ण ठेक्कामध्ये २२ वटा ठेक्का तोडिएका छन् । सडकतर्फ रुग्ण रहेका २३५ वटा ठेक्कामा ४० वटा ठेक्का तोडिएको प्रतिवेदनमा उल्लेख छ । सडकतर्फ थप डेढ सय ठेक्का तोड्ने गरी प्रक्रिया अघि बढाइएको मन्त्री घिसिङले जानकारी दिए । यसैगरी सहरी विकासतर्फ चारवटा रुग्ण ठेक्का तोडिएका छन् । सहरी विकासतर्फ योबाहेक ४० ठेक्का तोड्न सूचना प्रकाशित गरिएको छ । यी तीन क्षेत्रमा ४०० भन्दा बढी ठेक्का रुग्ण छन् । त्यसमा निर्माण व्यवसायीका कारण रुग्ण भएका ठेक्का तोडिएको मन्त्री कुलमान घिसिङले बताए । साथै, नयाँ ठेक्काका लागि बोलपत्र आह्वान गर्ने तयारी पनि अघि बढाएको उनले बताए ।

मन्त्री घिसिङले आफ्नो नेतृत्वमा सय दिनमा १ सय १ काम भएको दाबी गरे । त्यसमा ऊर्जा तथा सिँचाइतर्फ ३१, भौतिक पूर्वाधार तथा यातायाततर्फ ३६ र सहरी विकासतर्फ ३४ काम भएको उनले बताए ।

ठुला उद्योगीबाट विद्युतकाे बक्यौता उठाउन सुरु
मन्त्री घिसिङले लोडसेडिङका वेला २४ घन्टासम्म प्रयोग गरेको बिजुलीको प्रिमियम महसुल उद्योगीबाट उठ्न सुरु गरेको बताए । ‘विगत लामो समयदेखि उठ्न नसकेको डेडिकेटेड तथा ट्रंकलाइनको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा असुलउपर गर्न थालिएको छ । बक्यौताको किस्ता तिर्न सुरु गरी बन्द गरेका र एउटा पनि किस्ता नतिरेका उद्योगसमेत महसुल तिर्न आएका छन्,’ उनले भने ।

कोटेश्वरमा फ्लाइओभर बनाउन जापानसँग ऋण सम्झौता
कोटेश्वर चोकमा फ्लाइओभर बनाउन जापानबाट ३४.४९ अर्ब येन ऋण सहयोग लिने सम्झौता भएको उनको दाबी छ । यातायात प्रणालीलाई दिगो, सुरक्षित, समावेशी, हरित र प्रविधीमैत्री दिशातर्फ रूपान्तरण गर्न राष्ट्रिय यातायात नीति तयार पारिएको बताइएको छ । नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा खरिद गर्नेसम्बन्धी बोलपत्रको सूचना प्रकाशित भएको उनले बताए । खाल्डाखुल्डी मर्मतका लागि सडक एम्बुलेन्स प्रयोगमा रहेको छ ।

जेन–जी आन्दोलनमा क्षति पुगेका १४० सरकारी भवनबाट सेवा सुरु
जेन–जी आन्दोलनका कारण क्षति पुगेकामध्ये हरियो स्टिकर, अर्थात् सामान्य क्षति पुगेका एक सय ४० वटा भवन संरचनाको पुनर्निनिर्माण सारभूत रूपमा सम्पन्न गरिएको छ । आंशिक क्षति भएका दुई सय ४९ वटा र पूर्ण क्षति भएका ५१ वटा भवनको विस्तृत क्षति मूल्यांकनको कार्य सरकारी निकायका परामर्शदाताबाट भइरहेको उनको भनाइ छ ।