नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन हुनेमा गम्भीर आशङ्का व्यक्त गरेका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उनले वर्तमान सरकार र आन्दोलनरत पक्षबिचको व्यवहारले चुनावी वातावरण बन्न नसकेको टिप्पणी गरे। अन्तरिम सरकारसँग १० बुँदे सम्झौता गर्ने ‘जेनजी’ पुस्ताका अगुवाहरूले नै निर्वाचन हुन नदिने घोषणा गरिरहेकाले सरकारको नियत र तयारीमा प्रश्न उठेको उनको तर्क छ।
उपसभापति गुरुङले जेनजी अगुवा सुदन गुरुङको टेलिभिजन अन्तर्वार्तालाई उल्लेख गर्दै प्रधानमन्त्रीले ‘जेठो छोरो’ मानेकाहरूले नै चुनाव भाँड्ने कुरा गर्दा आशङ्का झन् बलियो भएको बताए। सम्झौताको मसी सुक्न नपाउँदै आन्दोलनरत पक्षबाट आएका यस्ता अभिव्यक्तिले सरकार निर्वाचन गराउन कत्तिको गम्भीर छ भन्ने कुरा प्रष्ट पारेको उनले जिकिर गरे।
कसैलाई निषेध गरेर वा कुनै राजनीतिक दललाई यात्रामा रोकेर स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न हुन नसक्ने भन्दै उनले सबै दल सहभागी हुने वातावरण बनाउन सरकारलाई आग्रह गरे।
कांग्रेस निर्वाचनबाट कहिल्यै नभाग्ने स्पष्ट पार्दै गुरुङले शान्ति सुरक्षा र भयमुक्त वातावरण निर्वाचनका लागि पहिलो सर्त भएको उल्लेख गरे। निर्वाचनका बेला मतपत्र च्यात्ने वा विध्वंस मच्चाउने कार्य कांग्रेसलाई स्वीकार्य नहुने भन्दै उनले कोही पनि नागरिकको मताधिकार नखोसियोस् भन्नेमा पार्टी दृढ रहेको बताए। चर्चाका लागि मात्रै नभई विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदानको विषयलाई समेत गम्भीरतापूर्वक लिएर सरकार अघि बढ्नुपर्नेमा उनले जोड दिए।
यस्तो छ गुरुङको भनाई :
कसैले कसैलाई निषेधको राजनीति गरेर, निषेधको भावनाबाट अग्रसर भएर निर्वाचन सुसम्पन्न हुन सक्दैन । कुनै प्रश्न नउठ्ने ढंगबाट नेपाल सरकार अघि बढ्नुपर्छ । कुनै कुना कन्तरामा आशङ्का उब्जिने गरी अघि बढ्न भएन । सबै मिलेर गए निर्वाचन सम्पन्न हुन्छ । पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुँदैन । हामी विध्वंस र मतपत्र च्याताच्यात भएको देख्न चाहँदैनौँ । हामी प्रजातन्त्र र लोकतन्त्रवादी हौँ । कसैको मताधिकार नखोसियोस् । मत हाल्ने अधिकारबाट वञ्चित नहोस् । अन्तरजिल्ला मतदानको कुरा छ, विदेशमा रहेकाहरूको मतदानको कुरा छ । चर्चाका लागि मात्रै कुरा नगरौँ । निर्वाचन फागुन २१ मा हुँदैछ भनिएको छ, यसलाई अर्जुनदृष्टिमा राख्नुपर्छ । सबै राजनीतिक दलहरू उपस्थित हुने र सहभागी बन्ने स्थिति सिर्जना गर्नुपर्छ । १० बुँदे सम्झौता गर्नेहरूले नै सम्झौताको मसी सुक्न नपाउँदै निर्वाचन हुन दिँदैनौँ भनिरहेका छन् । सम्झौता त यहाँहरूकै अघि च्यातिएको छ । के भइरहेको छ । नच्यात्ने पक्षले चुनाव हुन दिन्नौँ भनिसके । त्यसप्रति कतिको गम्भीर हुनुहुन्छ, हामी ध्यानपूर्वक हेरिरहेका छौँ । यहाँहरूको प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौँ भनेपछि हामीले के भन्नु ? हाम्रो के लाग्छ । केही न केही त छ । आशङ्का झन् बलियो बनायो ।