एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले एमालेले भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम बटुल्न थालेको संकेत गरेका छन्।
आज सामाजिक सञ्जालमा उनले यस्तो संकेत गरेका हुन्।
भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम कुन दलले संकलन गरे, उनले खुलाएका छैनन्। तर कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसहितका कतिपय दलले घोषित रुपमै समानुपातिक उम्मेदवारको नामावली संकलन अघि बढाएका छन्।
एमालेले भने फागुन २१ गतेका लागि घोषित निर्वाचन नहुने दाबी गर्दै आएको छ। एमाले अध्यक्ष केपी ओलीले यो सरकारले नगर्ने चुनावको प्रचार गर्दै आएको दाबी गरेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार यही पुस १३ र १४ गते दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनु पर्नेछ।
निर्वाचन प्रयोजनको निम्ति एमालेले समयमै दल दर्तासमेत गरिसकेको छ। चुनाव हुनेमा प्रश्न गर्दै आए पनि एमाललेले यो सरकारले गर्ने निर्वाचनमा भाग नलिने भनेको छैन।
शनिबार काठमाडौँमा भएको सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमालेले गरिरहेको बताएका थिए
एमाले नेता बास्कोटाले पनि आफ्नै दलले भित्रभित्रै निर्वाचनको तयारी गरेको संकेत गरेका हुन्।
‘चुनाब हुँदैन पनि भन्छन्, दलहरू फेरि आाफैँ खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्,’ बास्कोटाले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुन पत्याउनु हो? लाखे!’
