निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ दर्ता राजनीतिक दलहरूलाई आज (पुस ८ गते) उम्मेदवार छनोटका विषयमा प्रशिक्षण दिन सुरु गरेको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार सिफारिस गर्दा कुन जाति वा समुदायको कति प्रतिशत हिस्सा हुनुपर्ने हो भन्ने विषयमा दलहरू प्रायः अन्योलमा रहेको पाइएकाले आज मंगलबार र भोलि बुधबार २ दिन तालिम दिइने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार उम्मेदवारको बन्द सूची बुझाउँदा र अन्तिममा निर्वाचित घोषणा गर्दा अपनाउनुपर्ने कानुनी ‘फर्मुला’बारे प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा नयाँ-पुराना, साना-ठूला दलका तालिममा सहभागी भएका छन्।
‘जनगणनाअनुसार समानुपातिकको समावेशी समूहतर्फ हुनसक्ने परिवर्तनबारे दलहरूलाइ ओरिएन्टेसन प्रदान गर्न लागिएको हो। समानुपातिकमा निवेदन दिएका सबै १९३ वटा दलका प्रतिनिधि सहभागी छन्’, प्रवक्ता भट्टराईले आज बिहान भने, ‘यसमा आजका लागि दुईतिहाइ काम सक्ने भन्ने हाम्रो तयारी छ। भोलि पनि ओरन्टिएसन हुनेछ।’
समानुपातिक निर्वाचन प्रणालीमा पछिल्लो राष्ट्रिय जनगणनाअनुसार समावेशी प्रतिशत फाइनल गरेपछि निर्वाचन आयोगले दलका नेताहरूलाई तालिम आयोजना गरेको हो।
विगतका निर्वाचनहरूमा दलहरूले बुझाएको सूचीमा समावेशी मापदण्ड नपुग्दा आयोगले पटकपटक सच्याउन निर्देशन दिनुपरेको थियो। यसले निर्वाचन प्रक्रियामा ढिलाइ भएको मात्र होइन विवाद समेत बढाएको थियो।
नयाँ दलहरूका लागि समावेशी निर्वाचन प्रणाली बुझ्न अझ चुनौतीपूर्ण हुन सक्छ।
पुस १३ र १४ मा बन्दसूची बुझाउनुपर्ने
आयोग प्रवक्ता भट्टराईका अनुसार निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलहरूका लागि कार्यतालिका बनाइसकेको छ।
दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ।
आयोगको यो निर्णयसँगै दलहरूलाई आफ्ना उम्मेदवारको नयाँ समूह मिलाउनु पर्नेछ।