नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ सर्वाधिक कमाइ गर्ने चौथो फिल्म बनेको छ। ‘छक्का पञ्जा ४’ को रेकर्ड तोड्दै यो फिल्म हालसम्म धेरै कमाउने नेपाली फिल्मको चौथो स्थानमा छ।
यसअघि चौथो स्थानमा रहेको ‘छक्का पञ्जा ४’ ले १७ करोड ५३ लाख ग्रस कलेक्सन गरेको थियो। त्यस्तै, १७ करोड ४८ लाख कमाउँदै ‘जारी’ पाँचौँ स्थानमा थियो। तर, शनिबारसम्मको ‘परान’ले दुवै फिल्मको कमाइलाई उछिनेको छ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार ‘परान’ ले १७ करोड ६१ लाख व्यापार गरेको छ। जुन गत शनिबार अर्थात् ५१औँ दिनसम्मको कमाइ हो। सोही अवधिभर फिल्मका ६ लाख २५ हजार ६२५ टिकट बिक्री भएका छन्।
१९ करोड ९२ लाख ग्रस कलेक्सन गर्दै तेस्रो स्थानमा समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ रहेको छ। जुन आकडा पार गर्न सक्छ/सक्दैन, त्यो भने आगामी व्यापारले निर्धारण गर्ला!
सुरुमा यस फिल्मको व्यापार न्यून थियो। प्रदर्शनको पहिलो दिन फिल्मले पाँच लाखको ओपनिङ गरेको थियो। तर, तीन-चार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थाल्यो।
दीपकप्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको फिल्ममा नीरसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ।
यो फिल्ममा चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी छ।