बरु गोली खान तयार, तर जाँचबुझ आयोगलाई बयान नदिने ओलीको अडान

 संवाददाता    २०८२, ७ पुष सोमबार १३:२४     89 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बरु आफू गोली खान तयार तर जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान नदिने अडान दोहोर्‍याएका छन्।

हालै सम्पन्न एमालेको एघारौँ महाधिवेशनबाट लगातार तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित ओलीले आइतबार राति हिमालय टेलिभिजनको यक्ष प्रश्नमा निमेष बन्जाडेलाई अन्तर्वार्ता दिँदै आफू कुनै हालतमा जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका हुन्।

जाँचबुझ आयोगले केपी ओलीलाई अर्को हप्ता बयानमा बोलाउने

‘यदि मान्नु भएन भने हाामी यसरी भए पनि ल्याउँछौँ, त्यसरी भए पनि ल्याउँछौँ भन्ने भाषा छ नि?’

जवाफमा ओलीले भनेका छन्, ‘बयान दिन मानेन भने गोली ठोके हुन्छ नि। यत्रो कसुर गर्ने, बयान दिन नमान्ने! नजिता आइसक्यो, जाँच दिन्नँ भन्ने! यत्रो कसुर गर्नेलाई हान्दिनु नि गोली। उहाँहरूसँग छ नि त बन्दुक। के सानातिना कुरा गरिराख्या। भएन भने आजीवन थुन्दिने- बयान नगरेबापत।’

यस्तै उनले बयानका लागि आयोगबाट अहिलेसम्म लिखित मौखिक कुनै जानकारी नआएको पनि बताएका छन्।

ओलीले भनेका छन्, ‘त्यस्तो पत्रसत्र केही पनि छैन।’

‘मौखिक रूपमा केही छ?’

उनले भनेका छन्, ‘छैन, केही पनि आएको छैन।’

यसैगरी एमाले अध्यक्ष ओलीले आवश्यक पर्‍यो भने आफू सरकारलाई नसोधी काठमाडौँ उपत्यकाबाहिर जाने पनि बताएका छन्।

‘म बाहिर जान पर्दा म बाहिर जान्छु, भ्यालिबाहिर म जान्छु। मलाई जतिबेला पर्छ नि म जान्छु’, उनले अन्तर्वार्तामा भनेका छन्, ‘मेरो संवैधानिक अधिकार प्रयोग गर्न असंवैधानिक सरकारलाई सोध्नुपर्ने मैले?’

सरकारले ओलीलाई विदेश जान प्रतिबन्ध लगाएको छ भने काठमाडौँ उपत्यकाबाहिर जानुपर्दा पनि सरकारसँग अनुमति लिनुपर्ने आदेश जारी गरेको छ।