नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले सबैभन्दा प्रतिकूल समयमा पनि महाधिवेशन सम्पन्न गरेर आफूलाई प्रमाणित गरेको भन्दै कांग्रेसले सिक्नुपर्ने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसजत्तिकै ठूलो संजाल भएको एमालेले व्यवस्थित ढंगले महाधिवेशन सम्पन्न गर्दा कांग्रेसले महाधिवेशन नगरी जनतामा जाने अवस्था नरहेको बताए ।
थापाले तोकिएको मितिमा महाधिवेशन नभए विशेष महाधिवेशन गर्ने समेत प्रष्ट पारे । उनले जुनसुकै मूल्य चुकाएर भने पनि महाधिवेशन गराएरै छाड्ने भन्दै महाधिवेशन नगरी कांग्रेस चुनावमा नजाने प्रष्ट पारे ।
महामन्त्री थापाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने र जित्ने दाबी गर्दै पहिलो चरणमै जित्नेगरी आफू देशव्यापी अभियानमा लाग्ने समेत बताए ।