विभिन्न मुद्दामा फरार तीन प्रतिवादी पक्राउ

 संवाददाता    २०८२, ७ पुष सोमबार ११:३७     79 जनाले पढ़िसके



Spread the love

सल्यान प्रहरीले विभिन्न मुद्दामा फरार तीन प्रतिवादीलाई पक्राउ गरेको छ। सल्यान जिल्ला अदालतले फरक-फरक मुद्दामा कसुरदार प्रमाणित भई कैद र जरिवाना तोकिएका प्रतिवादीहरूलाई आइतबार विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

पक्राउ हुनेमा सवारी ज्यान मुद्दाका शारदा नगरपालिका १० का ३२ वर्षीय मेघराज कँवर, हाडनाता करणी मुद्दाका दार्मा गाउँपालिका- १ का ३८ वर्षीय चक्रबहादुर खड्का र हाडनाता करणीकै दार्मा गाउँपालिका- १ की ३९ वर्षीया बिमला खड्का रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। कँवरलाई अदालतले २०८१ पुस २१ गते तीन वर्ष कैद र ३२ हजार जरिवाना तोकेको थियो। उनलाई शारदा नगरपालिका- १, श्रीनगरबाट पक्राउ गरिएको हो।

हाडनाता करणीमा पक्राउ परेका चक्रबहादुरलाई २०७० पुस १८ गते १ महिना १५ दिन कैद तोकेको थियो। उनलाई बाँके नेपालगन्ज उपमहानगरपालिका- १२, बिपी चोकमा लुकिछिपी बसेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको भट्टराईको भनाइ छ।

हाडनाता करणीकी बिमलालाई पनि २०७०पुस १८ मा नै ६ महिना कैद तोकेको थियो। फरार खड्कालाई बर्दिया बाँसगढी नगरपालिका- ४, बछुवाबाट गोप्य सूचनाका आधारमा बर्दिया प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवै खड्कालाई सल्यान ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।