कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई झन् खुकुलो बनाउने निर्णय गरेको छ । वडा, क्षेत्र, जिल्लालगायतमा क्रियाशील नवीकरण छुट भएकालाई केन्द्रीय कार्यालयले सिधै क्रियाशील सदस्यता दिने निर्णय भएको छ । महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले क्रियाशील सदस्यता लिन छुट भएकालाई केन्द्रबाट सिधै दिन सक्ने निर्णय गरेको सदस्य प्रकाश स्नेहीले बताए । ‘क्रियाशील सदस्यता नवीकरण छुट भएका, तर कांग्रेसका सिद्धान्त र आस्थामा प्रतिबद्धलाई क्रियाशील सदस्यता नवीकरण गरिदिने निर्णय भएको छ,’ उनले भने, ‘योग्यता र मापदण्ड पुगेका सबैलाई क्रियाशील सदस्यता दिन्छौँ ।’
अनुशासन समितिले कारबाहीको टुंगो नलगाएकाको हकमा पनि क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको उनले जानकारी दिए । जेन–जी आन्दोलनअघि जिल्लाहरूमा २५ प्रतिशत क्रियाशील सदस्यता फाराम क्रमसंख्यासहित पठाएको र कतिपय जिल्लामा फाराम आगजनीमा परेको पाइएकाले ती जिल्लाका क्षेत्रीय कार्यसमितिमा पुरानो फाराम खारेज गरी गरी नयाँ फाराम पठाउने निर्णय पनि भएको छ । विदेशस्थित जनसम्पर्क समितिमा कसैको क्रियाशील सदस्यता नवीकरण रोकिएको भए सिधै केन्द्रीय कार्यालयमा आवेदन दिए अनलाइनबाटै क्रियाशील नवीकरण गरिदिनेसमेत निर्णय भएको छ । यसका लागि बेवसाइट बनाउने र सोमबारदेखि नै काम सुरु गरिने स्नेहीले जानकारी दिए ।
केन्द्रीय समितिको निर्णयअनुसार ८ पुसभित्र नयाँ क्रियाशील सदस्यता वितरणको काम सक्ने उल्लेख छ । जिल्लास्तरीय प्रारम्भिक छानबिन समिति गठन गर्ने, समितिले १२ पुसभित्र केन्द्रलाई प्रतिवेदन बुझाउने र पुनरावेदनको काम १४ पुससम्म सक्ने तालिका छ । १४ पुसमै केन्द्रीय सभापतिलाई सदस्यताको अन्तिम सूची बुझाउनुपर्ने भनिएको छ ।
यस्तै, १५ पुसभित्र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन, १६ गते वडा, १७ गते पालिका, १९ गते प्रदेशसभा निर्वाचन क्षेत्र र २१ तथा २२ गते जिल्ला अधिवेशन गर्ने तालिका छ । २३ र २४ पुसमा प्रदेश अधिवेशन सकेर २६ देखि २८ पुससम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय भएको थियो । तर क्रियाशील सदस्यता वितरण विवादले पहिलेको कार्यतालिकामा असर पर्ने देखिएको छ ।
प्रकाश स्नेही, सदस्य
कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समिति
क्रियाशील सदस्यता नवीकरण छुट भएका, तर कांग्रेसका सिद्धान्त र आस्थामा प्रतिबद्धलाई क्रियाशील सदस्यता नवीकरण गरिदिने निर्णय भएको छ । योग्यता र मापदण्ड पुगेका सबैलाई क्रियाशील सदस्यता दिन्छौँ ।