विजयी बन्न नसके पनि एमालेको अभियानमा मेरो सहभागिता अटूट रूपमा रहन्छ : ईश्वर पोखरेल

 संवाददाता    २०८२, ३ पुष बिहीबार १६:१६     101 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेलले पार्टीमा आफू विजयी बन्न नसके पनि एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता निरन्तर रहने बताएका छन् ।

महाधिवेशन सम्पन्न भएपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले अध्यक्षसहित निर्वाचित सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने प्रतिनिधि तथा मतदाता प्रतिनिधिहरूप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।

पोखरेलले महाधिवेशनका क्रममा उठाइएका विषयहरूले आगामी दिनमा पनि पार्टीभित्र बहस र छलफलको नयाँ स्तर कायम राख्ने विश्वास व्यक्त गरेका छन्। उनले जनताको बहुदलीय जनवादको प्रकाशमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन तथा ‘नियन्त्रण र सन्तुलन’को सिद्धान्त पालना जस्ता विषयलाई विशेष रूपमा उल्लेख गरेका छन् ।

पोखरेलले देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सक्रियता अटूट रहने स्पष्ट पारेका छन्। साथै, निर्वाचित नयाँ नेतृत्वले कार्यकाल सफलतापूर्वक सम्पन्न गरोस् भन्ने शुभकामनासमेत दिएका छन् ।

ishwor