राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ३२५ जनाले आवेदन दिएका छन् ।
पुस १ र २ गते बसेको पार्टीको सचिवालय बैठकले हालसम्म प्राप्त आवेदकहरूको सूची सार्वजनिक गरेको हो ।
यस्तै समानुपातिकतर्फ उम्मेदवारी आवेदन नदिएका केन्द्रीय सदस्यहरूलाई प्रदेशमा सहजकर्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । रास्वपाले पुस १४ गते बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छ ।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक तर्फको उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ३२५ आवेदन प्राप्त भएको र आवेदन प्राप्त हुने क्रम जारी नै रहँदा प्राप्त आवेदकहरूको अगाडिको प्रक्रिया प्रारम्भ गर्दै जाने निर्णय गरिएकाे हाे ।
आवेदकहरूलाई सातै प्रदेशमा छलफलका लागि पुस ५ गते आमन्त्रण गर्ने र छलफल सहजीकरणका लागि समानुपातिक तर्फ उम्मेदवारी आवेदन नदिएका केन्द्रीय समितिका सदस्यहरूलाई तपशील बमोजिम जिम्मेवारी तोक्ने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ ।
कोशी प्रदेशमा विपिन कुमार आचार्य, निशा डाँगी, अशोक कुमार चौधरी, सरिन तामाङलाई जिम्मेवारी दिइएको छ । मधेस प्रदेशमा मनिष झा, राजन गौतम, बिन्दबासिनी कंसाकार, तपेश्वर यादवले जिम्मेवारी पाएका छन् । यस्तै बागमती प्रदेशमा बिराज भक्त श्रेष्ठ, डा. तोसिमा कार्की, रामकृष्ण भट्टराई, उपेन्द्र पाण्डे रहेका छन् ।
गण्डकी प्रदेशमा शिशिर खनाल, असिम शाह, शिव नेपाली, मोहन थापा, राजन गौतम रहेका छन् । यसैगरी लुम्बिनी प्रदेशमा गणेश पराजुली, क्रान्ति शिखा धिताल, लक्ष्मी तिवारी, देवराज पाठक छन् ।
कर्णाली प्रदेशमा हरि ढकाल, बिनिता कठायत र मदन खड्का र सुदूरपश्चिममा दिपकराज बोहरा, ध्रुव गिरी, प्रकाश विष्ट रहेका छन् ।
यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ आवेदन दिने सदस्यहरूले परिवर्तन गरी प्रत्यक्षतर्फ आवेदन दिन चाहेमा २०८२ पुष ५गते दिनको ५ बजेसम्म थप शुल्क तिर्नु नपर्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।
स्थानीय तह, प्रदेश तह र संघीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका र स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिहरूसँगको समन्वयका लागि स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
जसमा संयोजक केन्द्रीय सदस्य विष्णु कुमार श्रेष्ठ रहेका छन् । सदस्यहरूमा केन्द्रीय संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठ र रञ्जु दर्शना रहेकी छिन् ।