सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल

 संवाददाता    २०८२, ३ पुष बिहीबार १२:३४     79 जनाले पढ़िसके



Spread the love

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरु निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरु निर्वाचनमा होमिएको बताए ।

राजनीतिक दलहरुले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको उनले बताए । निर्वाचनको तयारी स्वरुप कतिपय राजनीतिक दलहरुले गाउँदेखि शहरसम्म अभियान चलाएको उनले उल्लेख गरे । निर्वाचन आयोगले पनि निर्वाचनको कामलाई द्रुत गतिमा अगाडी बढाएको उनले जानकारी दिए ।

फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरु थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको उनले दाबी गरे । निर्वाचनमा भोट हाल्न जनता पनि आतुर रहेको उनको भनाई छ । सरकारले सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको पनि उनले जानकारी दिए ।

मुलुक निर्वाचनमा अगाडि बढिसकेको उनको दाबी छ । उनले वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेटअनुसार नै चलेको बताए । निर्वाचनको तयारी तीब्र गतिमा बढेको उल्लेख गर्दै उनले सुशासनका कार्यहरु पनि सरकारले अगाडि बढाएको बताए । वर्तमान सरकार गठन भएको तीन महिनामा ३० भन्दा बढी भ्रष्टाचारका मुद्दाहरु अदालत पुगेको उनको भनाई छ ।

निर्वाचनको वातावरण बनाउन र मतदाता शिक्षा प्रदान गर्नको लागि सहयोग गर्न सञ्चारमाध्यामहरुलाई उनले आग्रह पनि गरे ।