काठमाडौँ, भक्तपुर र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका-१४ बल्खुमा गएराति ग.२ ख २०३९ नम्बरको ट्रकले बा.प्र ०२-०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बयोदा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि भक्तपुरको मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटोस्थित सडकमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ०३-०२-०१३ प ६५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-२ ईताछेँ बस्ने २६ वर्षीय बिजय खर्बुजा रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यसैगरि महोत्तरीको मटिहानी नगरपालिका-८ मा बीआर ३२ एएल २७९६ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही नगरपालिका-३ निवासी ६० वर्षीया पार्वती देवी महतोको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।