म्यानपावरबाट कामदार पठाउन तयार गरेको ‘गणतन्त्र कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ कार्यान्वयनमा ल्याएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारीस्तरबाटै दक्ष युवालाई कोरिया पठाउन पनि पहल भइरहेको दाबी गरेको छ ।
मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कोरियासँग सरकारीस्तरमै सम्झौता गरेर दक्ष जनशक्ति पठाउन पहल भइरहे पनि नतिजा नआइसकेको र यसबिचमा निजी क्षेत्रबाट पनि सिपयुक्त कामदार पठाउन कार्यविधि बनाएको बताए । ‘अहिले अदक्ष र अर्धदक्ष कामदार सरकारीस्तरमै सम्झौता भएर रोजगारीका लागि कोरिया पठाइरहेका छौँ । यस्तै प्रक्रियाबाट सिपयुक्त श्रमिक पठाउन हामीले पहल गरिरहे पनि सार्थक हुन सकेको छैन,’ उनले भने, ‘यसबिचमा निजी क्षेत्रबाट पनि पठाउन मिल्ने गरी कार्यविधि तयार भएको हो ।’
श्रम मन्त्रालयले ८ पुसबाट ‘हेल्प टु हेल्प १० सेल’ नामको श्रमिकमैत्री संयन्त्र लागू गर्ने जनाएको छ । विदेश जाने श्रमिकलाई ठगीबाट जोगिन र तोकिएको रोजगारी पाउने सुनिश्चितता कायम गर्न सो संयन्त्रले सहयोग पुग्ने सचिव पुष्करले बताए । ‘विदेश जानुअघि नै श्रमिकलाई आवश्यक जानकारी दिन एउटा संयन्त्र बनाएका छौँ,’ उनले भने । सो संयन्त्रमार्फत श्रम गन्तव्य, सम्बन्धित म्यानपावर, उमेर र तालिमको अवस्था, शुल्क लाग्ने हो वा होइन, कुल लागत, भुक्तानी प्रणाली, र सम्भावित ठगीबाट जोगाउन मद्दत पुग्छ
।