बैंक तथा वित्तलक्षित घटना बढेको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण

 संवाददाता    २०८२, १ पुष मंगलवार १८:२७     107 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 

नेपाल सरकार, यस बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको अवस्थामा यस्ता आक्रमण हुन नहुने केन्द्रीय बैंकको भनाइ छ।

 

 

‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रहीे कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जासम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो’, विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ । यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको छ।’

 

बंैकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र यस बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेको भन्ने लागेमा सोको गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्था समेत रहेको केन्द्रीय बैंकको भनाइ छ।

 

 

‘बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्घ भएका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

 

साथै, बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ।

 

पछिल्लो समय बर्दिबासमा ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको थियो। त्यसको बैंक तथा वित्तीय संघहरुले विरोध गरिरहेका छन्।