बोन्डी बिचमा गोली चलाउने बाबु-छोरामध्ये एक भारतीय भएको सीएनएनको दाबी

 संवाददाता    २०८२, १ पुष मंगलवार १५:२८     203 जनाले पढ़िसके



Spread the love

यही डिसेम्बर १४ (मंसिर २९) मा अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा १५ जना मारिनेगरी गोली चलाउने बाबु-छोरामध्ये एक भारतीय भएको दाबी सीएनएनले गरेको छ।

सीएनएनको रिपोर्टअनुसार, फिलिपिन्सका अधिकारीहरूले आक्रमणमा संलग्न साजिद अक्रम नोभेम्बर १ मा आफ्ना छोरा नविदसँग फिलिपिन्स गएका थिए। त्यस क्रममा साजिदले भारतीय राहदानी प्रयोग गरेका थिए भने उनका छोराले अस्ट्रेलियाली राहदानी प्रयोग गरेका थिए। उनीहरूले एक महिनादेखि आक्रमणको तयारी गरिरहेका थिए।

अध्यागमन ब्युरोका प्रवक्ता डाना स्यान्डोभलले सीएनएनसँग भनेकी छन्, ‘साजिद अस्ट्रेलिया निवासी भारतीय नागरिक हुन्, किनकि उनले भारतीय राहदानी प्रयोग गरेर फिलिपिन्स यात्रा गरिरहेका थिए।’

अधिकारीहरूका अनुसार, ती बुवा र छोराले दक्षिणी फिलिपिन्सको मिन्डानाओ टापुमा अवस्थित दाभाओ सहर भ्रमण गरेका थिए। मिन्डानाओ फिलिपिन्समै सबैभन्दा धेरै मुस्लिम बसोबास गर्ने स्थान हो। जसलाई इस्लामिक आतंककारी र विद्रोही संगठनहरूको गढ मानिन्छ, जसले छुट्टै देश निर्माणको माग गर्छन्।

यसका साथै आक्रमणकारीहरूको गाडीबाट दुईवटा इस्लामिक स्टेटका झन्डा बरामद भएका छन्, जसले आईएसआईएससँग उनीहरूको सम्बन्ध रहेको संकेत गर्छन्।

उनीहरूका विषयमा बुझ्न भारतको विदेश मन्त्रालयलाई सम्पर्क गर्दा अहिलेसम्म कुनै जानकारी नदिइएको सीएनएनले उल्लेख गरेको छ।

आइतबार अस्ट्रेलियामा भएको आतंकवादी आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्। मृतकमा एकजना आक्रमणकारी पनि छन्। अर्का भने गम्भीर घाइते अवस्थामा छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणमा संलग्न ५० वर्षीय साजिदलाई प्रहरीले गोली हानेर तत्काल मारेको हो भने उनका छोरा २४ वर्षीय नविद भने गम्भीर घाइते भएका छन्।