एमालेको मतदान निर्धारित समयभन्दा ढिलो सुरु हुने

 संवाददाता    २०८२, १ पुष मंगलवार १५:१०     153 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न आज मंगलबार हुनुपर्ने मतदान निर्धारित समयभन्दा ढिलो सुरु हुने भएको छ। प्रक्रियागत सबै विषय टुंगो नलागेपछि मतदानको समय ढिलो हुने भएको हो।

यसअघि आज ३ बजे मतदान सुरु हुने भनेर समय तय भएको थियो। अब त्यो समय ४ अथवा ५ बज्न सक्नेछ। एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार ‘प्राविधिक’ कठिनाइ भइरहेकाले मतदान सुरु हुने मिति पर सर्न लागेको हो।

‘तीन बजे भनेको ठाउँमा ४ बजे सुरु हुनसक्छ। ५ बजे भए पनि हामी सुरु चाहिँ गर्छौं’, सचिव लामाले भने।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछन्। मतदान सकिन ६ देखि ७ घण्टा लाग्ने अनुमान निर्वाचन आयोगको छ।
निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र वर्तमान बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।

पाँच जना उपाध्यक्ष, एक जना महासचिव तीन उपमहासचिव पदका लागि मतदान हुनेछ। यसैगरी ९ सचिव, ३३ स्थायी कमिटी सदस्य र ९९ पोलिट्ब्युरो र ३ सय १ जना केन्दीय सदस्यका लागि निर्वाचन हुनेछ।

केन्द्रीय सदस्यमा ११ जना निर्विरोध निर्वाचित भइसकेका छन्। अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी पनि निर्विरोध भइसकेका छन्। यी बाहेक अरू पद चयन गर्न मतदान हुनेछ।