नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी गत भदौ २२ गते विधान महाधिवेशनबाट पछाडि हटेको टिप्पणी गरेका छन्।
आइतबार दिउँसो सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै उनले आज भएको विधान संशोधनले त्यो बेलाको सबै निष्कर्ष ध्वस्त पारेको बताएका हुन्।
‘गत भदौ २२ गते हामी जुन निस्कर्षमा पुगेका थियौँ, तियो ठाँउमा रहेनछौँ,’ पोखरेलले भने, ‘सबै ध्वस्त भयो।
उनले यसमा कुन कारण हो भन्दै त्यसको निराकरण गर्नुपर्नेमा समेत जोड दिए। ‘यसमा बाह्य कारण प्रमुख हो कि आन्तरिक कारण निर्णायक हो यो प्रश्नको निराकरण गर्नैपर्छ,’ पोखरेले जोड दिँदै भने।
भदौ २०-२२ गतेसम्म चलेको विधान महाधिवेशनले पदाधिकारी १५ जना र केन्द्रीय कमिटी २५१ जनाको बनाउने निर्णय गरेको थियो। तर, आज बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले त्यसलाई उल्ट्याउँदै पदाधिकारी १९ र केन्द्रीय कमिटी ३०१ बनाउने निर्णय गरेको छ।
उनले बन्दसत्रमा आफूले छुट्टै अवधारणा पत्र पेस गरेको उल्लेख गर्दै सबै प्रतिनिधिका हातमा त्यो पुग्ने बताए। ‘मैले अध्यक्ष कमरेडसंग सल्लाह गरेरै एउटा अबधारणा पेस गरेको छु, जुन प्रतिनीधिहरुले पाउनु हुनेछ,’ पोखरेलले भने।
उनले महाधिवेशनले एकता सन्देश दिन आवश्यक रहेकोमा समेत जोड दिए। ‘यो हाम्रो महाधिवेशनले ‘एकताको महाधिवेशन हो भन्ने सन्देश दिनु आवश्यक छ,’ पोखरेलले भने, ‘म चाहन्छु, यसलाई साँचिकै एकताको महाधिवेशन बनाऔँ।’
विगतका महाधिवेशनहरूको स्मरण गर्दै उनले विशेषगरी ५ औँ महाधिवेशनलाई ऐतिहासिक भएको उल्लेख गरे।‘पाँचौँ महाधिवेशनमा जबज प्रस्ताव गरिएको थियो र फरक मतको संरक्षण गर्ने ग्यारेन्टी गरिएको थियो,’ उनले भने, ‘फरक मतलाई स्वीकार गर्ने विषय आज पनि उत्तिकै सान्दर्भिक छ।’
पार्टी सञ्चालनका विषयमा आत्मसमीक्षाको आवश्यकता औँल्याउँदै पोखरेलले सबै कमजोरी बाह्य षड्यन्त्रको नाममा पन्छिन नहुने धारणा राखे। ‘सबै कुरा बाह्य षड्यन्त्रलाई जिम्मा लगाएर हाम्रो कार्यभार सकियो भन्ने सोच गलत हो,’ उनले भने, ‘पाँचौँ महाधिवेशनपछि पार्टी किन फुट्यो भन्ने विषयमा गम्भीर छलफल नै भएन।’
२०७१ सालमा केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएको सन्दर्भ उल्लेख गर्दै पोखरेलले उनको वैचारिक योगदानको चर्चा समेत गरे। ‘कमरेड ओलीले ‘पार्टी जीवनको लोकतान्त्रीकरण र जबज’ शीर्षकको पुस्तक लेख्नुभएको छ,’ उनले भने, ‘त्यसमा उमेर हद, दुई कार्यकाल र भूराजनीतिक भारजस्ता विषयमा गहिरो विश्लेषण गरिएको छ, सबै कमरेडहरूले एकपटक पढ्नुपर्छ।’
१० औँ महाधिवेशनपछि देखिएका समस्याबारे आवश्यक समीक्षा हुन नसकेको स्वीकार गर्दै उनले अहिलेको अवस्थामा स्पष्ट निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए।
राज्य संयन्त्र हुँदाहुँदै पनि पार्टी किन असफल भयो भन्ने प्रश्न उठाउँदै पोखरेलले कमजोरी स्वीकार गर्नुपर्ने बताए। ‘हामीसँग राज्य संयन्त्र थियो, तर असफल भयौँ भने कमजोरी हाम्रो पनि थियो,’ उनले भने, ‘त्यसतर्फ गम्भीर ध्यान दिनैपर्छ।’
ऐतिहासिक आन्दोलनहरूको नेतृत्व गरेको पार्टीलाई निरन्तर क्रान्तिकारी बाटोमा अघि बढाउन नीति र विधानअनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिए।
आजकै कार्यशैलीले पार्टीलाई अविछिन्न क्रान्तिकारी बाटोतर्फ लैजान बाधा पुर्याइरहेको छ,’ पोखरेलले भने, ‘अब हामी नीति र विधानअनुसार नै अघि बढ्नुपर्छ।’