प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : महानिरीक्षक कार्की

 संवाददाता    २०८२, २९ मंसिर आईतवार १५:१६     116 जनाले पढ़िसके



Spread the love

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा हुने हरेक किसिमका आन्दोलनका बेला प्रहरी नै सधैँ निशानामा पर्ने गरेको गुनासो गरेका छन्।

 

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आइतबार उद्घाटन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

 

 

उनका अनुसार राजनीतिक तथा अन्य आन्दोलनहरूमा प्रहरीका संरचनाहरू पटक-पटक ध्वस्त बनाइन्छन् र प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ जस्तै व्यवहार गरिन्छ।

 

‘मूलभुत रुपमा प्रहरीका संरचनाहरू यसपाला पनि ध्वस्त भए, नेपालको इतिहासमा यसभन्दा पहिलेका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोमा पर्छ,’ कार्कीले भने, ‘यसलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो पनि बनाउने पनि गरिन्छ। नागरिक र प्रहरीको साझेदारीमा हामीले यस्तो प्रवृत्तिलाई अन्त्य गर्दै शान्ती सुव्यवस्था कायम हुनेगरी काम गर्न हाम्रा प्रहरी कर्मचारीहरुलाई निर्देशन पनि दिन्छु।’

 

 

जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा ध्वस्त बनाइएको बौद्ध प्रहरी कार्यालयको भवन पुनर्निर्माणपछि पुनः सञ्चालनमा ल्याइएको हो।