सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेसँगै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण शनिबार (मंसिर २७ गते) सकिएको छ।
एनपीएलको पहिलो सिजनमा खराब प्रदर्शन गरेको लुम्बिनीको सुरुवात यसपटक पनि त्यस्तै थियो। तर पाँचौँ खेलबाट एकाएक लिगमा पुनरागमन गरेको लुम्बिनी अन्तत: उपाधि नै हात पार्न सफल भयो।
आफूले नेतृत्व गरेको टिमले उपाधि जित्दा कप्तान रोहित पौडेल यसै पनि खुसी थिए। त्यसमाथि आफू प्रतियोगिताको नायक नै घोषणा हुँदा शनिबार उनका लागि अझ विशेष दिन बन्यो।
फ्रेन्चाइज लिगमा पहिलो उपाधि जितेका रोहित एनपीएल दोस्रो सिजनको उत्कृष्ट खेलाडी पनि बनेका हुन्। जसको पुरस्कारमा उनले कार पाए।
यस्तै उनी एनपीएलमा सर्वाधिक रन बनाउने पहिलो नेपाली खेलाडीसमेत बनेका छन्। जसबापत रोहितले मोटरसाइकल पनि पाए।
एकसाथ एनपीएलको उपाधि, कार र बाइक जित्दा रोहित खेल मैदानमा निकै भावुक देखिए।

अनि जितेको कारमा आफ्ना बुबा र आमालाई राखेर उनले त्रिवि क्रिकेट मैदान परिक्रमा गरे।
त्यसपछि पत्रकारहरूसँग कुरा गर्दै रोहितले आफूले यति धेरै पुरस्कार जितिएला भनेर कल्पना पनि नगरेको बताए।
‘कार सोचेको पनि थिइनँ। मेरो दिमागमा कसरी उपाधि जित्ने भन्ने मात्र थियो। त्यो सोच्दा कार पनि आयो’, उनले भने, ‘त्यो इमोसनल मोमेन्ट थियो। बुबा, आमा, दाइ भाउजु सबै हुनुहुन्थ्यो। आज कार, बाइक, उपाधि सबै जितेँ।’
त्यसो त उनी उपाधि र यति धेरै पुरस्कार जित्दा पनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट भने देखिएनन्।
रोहितले भने, ‘मेरो प्रदर्शनबाट सन्तुष्ट त छैन तर टोलीले जित्दा खुसी छु, व्यक्तिगत रूपमा मैले धेरै गर्नुछ।’
फाइनलमा सुदूरपश्चिमको मिडल अर्डल कोल्याप्स गर्न रोहितले महत्त्वपूर्ण भूमिका खेले। उनले ह्याट्रिक विकेट लिएपछि सुदूरपश्चिमलाई दबाब परेको थियो।
रोहितले एघारौँ ओभरको चौथो बलमा १३ रन बनाउँदा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई रुवेन ट्रम्पलम्यानको हातबाट क्याच आउट गराए।
सोही ओभरको पाँचौँ बलमा दीपक बोहोरालाई शून्य रनमै सन्दीप जोराको हातबाट क्याच आउट गराए।
अन्तिम बलमा पुनित मेहरालाई शून्य रनमा एलबीडब्लु धरापमा पार्दै रोहितले ह्याट्रिक विकेट लिएका हुन्।
उनी भन्छन्, ‘मैले सपनामा पनि सोचेको थिइनँ ह्याटिक गर्छु भनेर। ह्याट्रिकले गर्दा उहाँहरूलाई प्रेसर भयोजस्तो लाग्छ, त्यसले गर्दा मिडल अर्डर कोल्याप्स भयो।’
यस क्रममा रोहितले फाइनल खेलमा आफ्नो टोली लुम्बिनीले योजना गरेभन्दा पनि राम्रो प्रदर्शन गरेको भन्दै खुसी व्यक्त गरे।
‘एक जित, तीन हारबाट यहाँसम्म आइपुग्नु भनेको ठूलो उपलब्धि हो। यो टिम इफोर्टले गर्दा नै सम्भव भएको हो’, उनले भने, ‘फाइनलमा प्लान गरेभन्दा राम्रो भयो। सुदूरपश्चिमलाई ८०/८५ मा रोक्छौँ भन्ने सोचेका थिएनौँ। १ सय ४०/५० मा रोक्यौँ भन्ने जित्छौँ जस्तो लागेको थियो। बलिङ युनिट राम्रो थियो, सबैले राम्रो गरे।’