एमालेमा थपिँदैछन् ४ पदाधिकारी, महासचिवमा पोखरेलको निरन्तरता, ६ नेताको हुने छ बढुवा

 संवाददाता    २०८२, २७ मंसिर शुक्रबार १६:२४     264 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले विधान संशोधन गर्दै पदाधिकारी संख्या १९ जना कायम गर्ने भएको छ। जसमा उपाध्यक्ष २ र सचिव २ जना थप हुने नेताहरूले बताएका छन्।

 

अहिले बसिरहेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गर्ने एमालेको एक उच्च नेताले बताए। गत भदौ २०-२२ मा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा कायम गर्ने निर्णय गरेको थियो।

 

 

जसमा, वरिष्ठ उपाध्यक्ष नराखि ३ जना मात्र उपाध्यक्ष रहने प्रावधान राख्दै विधान संशोधन गरेको थियो। यस्तै, स्थायी कमिटी नराखि केन्द्रीय कमिटीको संख्या पनि २५१ मा सीमित गरेर विधान संशोधन गरेको एमालेले तीन महनिा नपुग्दै फेरि विधान संशोधन गरेको हो।

 

नयाँ व्यवस्था अनुसार दुई उपाध्यक्ष थप्दा उपाध्यक्षको संख्या फेरि पाँच पुग्नेछ। यस्तै, ७ सचिवलाई बढाएर ९ जना कायम गर्ने निर्णय गरिएको छ।

 

 

अध्यक्ष केपी शर्मा ओलीले आफ्नै खेमाका नेता व्यवस्थापन चुनौतिपूर्ण बनेपछि सो निर्णय गराएका हुन्। विधान संशोधन गर्ने निर्णयको अनुमोदन एघारौँ महाधिवेशन आयोजक समितिको बैठकले गर्नेछ।

 

शनिबार भक्तपुरको सल्लाहघारीमा ११ औँ महाधिवेशन उद्घाटन हुनेछ। मंसिर २८ गते काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रले यसलाई कार्यान्वयनमा लैजानेछ।

 

विधान संशोधन भएपछि ओली पक्षमा रहेका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षमा बढुवा हुने सम्भावना बढेको छ। उनीहरू दुबै जना १० औँ राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव जितेका थिए। तर, यसपटक दुबैजना महासचिव पदका लागि दाबेदार थिए।

 

तर, अध्यक्ष ओलीले उनीहरूलाई उपाध्यक्षमा बढुवा गरेर महासचिवमा शंकर पोखरेललाई दोहोर्‍याउने लगभग निश्चित भएको छ। दुई नेता बढुवा भएपछि अहिले सचिव भएकाबाट दुईजना उपमहासचिव बढुवा हुनेछन्।

 

यस्तै, स्थायी कमिटी र पोलिटव्युरोमा रहेका दुई नेतालाई सचिव बनाउने ओलीको तयारी छ। ‘उपाध्यक्ष र सचिव दुई-दुईजना थपिने भएको छ,’ अध्यक्ष ओलीका विश्वासपात्र एक नेताले भने, ‘अब नेता व्यवस्थापन भयो।’

 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिन तीव्र तयारी गरेपछि आफ्ना पक्षमा रहेका नेताहरूलाई एकताबद्ध राख्न ओलीले विधान संशोधन प्रस्ताव ल्याएका हुन्।

 

१० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीमा ओली बहुमतमा छन्।

 

तेस्रो कार्यकाल पनि एमालेको नेतृत्व गर्ने निश्चित जस्तै भइरहेको बेला विधान संशोधन गरेपछि उनलाई थप सहज भएको नेताहरू बताउँछन्।