नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले संविधान र कानुन विपरीत काम गरिरहेको आरोप लगाएका छन्।
बिहीबार ११ औँ महाधिवेशनबारे सम्पादकहरूसँगको छलफलमा उनले कार्की सरकारलाई ‘असंवैधानिक र प्रतिशोधप्रेरित’ भएको टिप्पणी दोहोर्याए।
जेनजी आन्दोलनका घटनामा बनाइएको जाँचबुझ आयोगसम्बन्धी प्रश्नमा ओलीले बयान दिन जाने-नजाने आफ्नो व्यक्तिगत निर्णय हुने बताउँदै आयोगका सदस्यका अभिव्यक्तिले नै आयोगको मनसाय स्पष्ट भइसकेको दाबी गरे। ‘कानूनी व्यवस्था के छ, मैले नि हेरेको छु। आयोगले मिडियामा बोलेका कुरैले धेरै कुरा पुष्टि भइसकेको छ,’ ओलीले भने।
अध्यक्ष ओलीले वर्तमान सरकारलाई अस्थायी मात्र नभई पूर्ण रूपमा असंवैधानिक भएको आरोप लगाउँदै प्रधानमन्त्री कार्कीलाई निर्वाचन गराउन राष्ट्रपतिले नियुक्त गरेको स्मरण गराए। उनले भने, ‘उहाँलाई निर्वाचन गराउन नियुक्त गरिएको हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैन।’
समय र राजनीतिक प्रक्रियालाई रोक्न नसकिने उल्लेख गर्दै उनले सरकारलाई होसियारीपूर्वक अगाडि बढ्न आग्रह गरे। ‘फागुन २१ पछि फागुन २२ आउँछ। समय रोकिँदैन। होस गरेर चल्नुस्,’ ओलीको चेतावनी थियो।