संकट अझै टरेको छैन : प्रचण्ड

 संवाददाता    २०८२, २६ मंसिर बिहीबार ०९:५७     105 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिस्ट पार्टीले जेन–जी महोत्सव आयोजना गरेको छ । अखिल क्रान्तिकारीको आह्वानमा दुई साता चल्ने महोत्सवको बुधबार राष्ट्रिय सभागृहमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

 

 

उनले देशमा संकट अझै टरिनसकेको बताए । गत २४ भदौमा राज्यविहीन अवस्थामा पुगेको स्मरण गर्दै उनले संकट पूरै नटरेको बताएका हुन् । ‘देश जसरी २४ भदौमा राज्यविहीनजस्तो देखापर्‍यो । देश निकै ठुलो संकटमा पर्‍यो । अझै पनि संकट पूरै टरेको छैन,’ उनले भने, ‘हामी सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । तीन करोड नेपाली एकढिक्का भएर लडाइँको मैदानमा अगाडि बढ्न सक्ने तागत नेपालीसँग छ ।’

 

नेपाली जनता एकताबद्ध भएर अगाडि बढ्दा दुनियाँको कुनै पनि तागतले हराउन नसक्ने उनले बताए । राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको रक्षा जनताको एकताले मात्रै बचाउन सकिने उनले बताए ।

 

प्रचण्डले युवा विद्यार्थीलाई सचेततापूर्वक अगाडि बढ्न आग्रहसमेत गरे । नेकपाको सन्देश सभामा जनताको उल्लेख्य सहभागिता रहेको भन्दै उनले त्यसले दुनियाँलाई सन्देश दिएको पनि बताए । महोत्सव २४ मंसिरदेखि ८ पुससम्म चल्ने अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले जानकारी दिए ।

 

‘८ पुससम्म देशव्यापी महोत्सव चल्छ । महोत्सवमा युवा प्रतिभाको खोजी गर्छौँ,’ उनले भने । संगठनका नेता तथा कार्यकर्ता र जेन–जी युवाहरू महोत्सवमा सहभागी छन् । ८ पुसमा त्रिभुवन विश्वविद्यालयमा महोत्सव समापन गरिनेछ ।