राप्रपा केन्द्रीय समिति बैठक : चैत वा जेठमा महाधिवेशन प्रस्ताव

 संवाददाता    २०८२, २६ मंसिर बिहीबार ०९:५३     99 जनाले पढ़िसके



Spread the love

राप्रपा केन्द्रीय समिति बैठकमा पार्टीको आगामी महाधिवेशन चैत वा जेठमा गर्ने प्रस्ताव पेस भएको छ । आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भएमा जेठमा तथा निर्वाचन नभए चैतभित्र निर्वाचन गर्ने प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल हुनेछ ।

 

 

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार जेन–जी आन्दोलनपछि राप्रपा केन्द्रीय समितिको बैठक बुधबार पहिलोपटक बसेको हो । ‘बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षासहितको राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक र लेखापरीक्षण प्रतिवेदन पेस गर्नुभयो,’ राप्रपा प्रवक्ता श्रेष्ठले भने । उपाध्यक्ष विक्रम पाण्डेले बैठकमा सक्रिय सदस्यतासम्बन्धी निर्देशिका तथा अर्का उपाध्यक्ष हेमजङ गुरुङले महाधिवेशनको कार्यतालिका पेस गरेका थिए ।

 

 

उपाध्यक्ष गुरुङले पेस गरेको निर्वाचन कार्यतालिकामा पुसभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने उल्लेख छ । ‘केन्द्रीय समितिको म्याद ६ महिना थपिएकाले त्यसवेलासम्म पार्टीको केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय भइसकेको छ । त्यहीअनुसार चैत वा जेठमा महाधिवेशन गर्ने प्रस्ताव आएका हो । बिहीबार यसबारेमा संशोधनसहित निर्णय हुनेछ,’ राप्रपाका एक पदाधिकारीले भने । बैठकमा अध्यक्ष अध्यक्ष लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाअन्तर्गत प्रतिनिधिसभाको चुनावले निकास नदिने बताएका थिए । बैठकमा नेताहरू प्रकाश रिमाल, विजय खड्का, जनक पाठक, प्रवीण थोकर, जनक प्याकुरेल, श्याम शाही, ताहिर अलीलगायतले बोलेका थिए ।