बंगलादेशमा जनवरीयता डेंगीले ४०१ जनाको मृत्यु

 संवाददाता    २०८२, २६ मंसिर बिहीबार ०९:३९     103 जनाले पढ़िसके



Spread the love

बङ्गलादेशमा डेंगीका कारण यस वर्ष अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ।

 

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जारी गरेको तथ्याङ्कअनुसार दक्षिण एसियाली मुलुक बङ्गलादेशमा जनवरी देखि डेङ्गु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ।

 

 

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र थप ४२१ जनालाई डेंगु संक्रमण भएको रेकर्ड गरेको जनाइएको छ।

 

डीजीएचएसका अनुसार डेंगीका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ नाघेको छ, जसमा डिसेम्बरमा १९ र नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको छ।

 

 

नोभेम्बरमा २४ हजार ५३५ जनालाई नयाँ सङ्क्रमण भएकोमा डिसेम्बरमा अहिलेसम्म ४ हजार ३०८ जना सङ्क्रमित भेटिएको जनाइएको छ।

 

तीव्र डेंगी सङ्क्रमण नियन्त्रण गर्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र लार्भा विरोधी अपरेसनहरू सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ।

 

डेंगी ज्वरो सङक्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो।

 

यस रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने थकान, गम्भीर मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने चक्कर लमग्ने जस्ता लक्षणहरूसहित मानिसहरुलाई सिथिल बनाउने जनाइएको छ।