११ औँ महाधिवेशनमा नीतिगत बहस हुँदैन: प्रदीप ज्ञवाली

 संवाददाता    २०८२, २५ मंसिर बुधबार १७:०५     97 जनाले पढ़िसके



Spread the love

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आसन्न ११ औँ महाधिवेशनलाई नेतृत्व चयनमै केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।

 

महाधिवेशनमा सहभागीताका लागि एमालेले काठमाडौँमा सुरु गरेको निमन्त्रण अभियानको काँडाघारीबाट सुरुवात गर्दै ज्ञवालीले यस्तो बताएका हुन्।

 

 

अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले आउँदो महाधिवेशमा पेस गर्नुपर्ने नीतिगत विषय समेटेर अध्यक्ष केपी ओलीलाई अवधारणा–पत्र बुझाएको सन्दर्भमा नेता ज्ञवालीको यस्तो भनाई सार्वजनिक भएको हो।

 

उनले एकै मञ्चमा नीति र नेतृत्वको निर्णय हुँदा नीतिगत बहस ओझेलमा पर्ने तथा नेतृत्वप्रति ध्यान केन्द्रित हुने हुँदा नीतिमाथि प्रत्यक्ष प्रभाव पार्ने विगतका अनुभवहरूको आधारमा दुवै महाधिवेशनलाई पृथक रूपमा गर्ने व्यवस्था मिलाइएको बताए।

 

 

‘विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयनका लागि हुने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन,’ उनले भने, ‘दुई महाधिवेशनकाबीचमा उत्पन्न हुनसक्ने राष्ट्रिय राजनीतिक परिवर्तनका विषयमा आवश्यक नीति संशोधन गर्ने अधिकार महाधिवेशनले केन्द्रीय कमिटीलाई नै प्रदान गरेको छ।’

 

उनले हरेक घटना र परिस्थितिका लागि महाधिवेशन बोलाउन सम्भव नहुने भएकाले नीति अद्यावधिक गर्ने प्रक्रिया केन्द्रीय कमिटीमार्फत अघि बढ्ने तर्क गरे।

 

सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी निष्कर्ष माघ १९ को घटनापछि असान्दर्भिक र गलत साबित भएको स्मरण गर्दै उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक निर्णय महाधिवेशनबाट होइन, केन्द्रीय कमिटीबाट लिनुपरेको परिस्थिति त्यसको उदाहरण भएको बताए।

 

नेतृत्वको कार्यशैली, उपलब्धि र कमजोरीको वस्तुनिष्ठ समीक्षा आवश्यक भए पनि आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरता बढेको वातावरणमा यस्तो समीक्षा ‘आरोप–प्रत्यारोप’ र ‘ब्लेम गेम’ मा परिणत हुने जोखिम रहने उनको तर्क थियो।

 

अहिले नेतृत्वमाथि गम्भीर चुनौती रहेको र विधानअनुसार स्थापना गरिएको स्वयंसेवक संस्थाबारेसमेत भिन्न आवाज उठिरहेको अवस्थामा समग्र विषयमा सम्यक विश्लेषण अहिलेको घडीमा व्यवहारिक नदेखिएको बताए।

 

‘आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरतामा बाँडिएको बेला गरिने समीक्षा वस्तुनिष्ठ हुन सक्दैन, त्यो आरोप-प्रत्यारोप र ‘ब्लेम गेम’ मा रूपान्तरित हुन्छ,’ उनले भने, ‘नेतृत्वमाथि गम्भीर चुनौती खडा भएको बेला विधानको व्यवस्था बमोजिम स्थापना गरिएको स्वयंसेवक संस्थाबारे त भिन्न स्वर सुनिन्छन् भने यति बेला समग्र विषयमा सम्यक विश्लेषण सम्भव देखिँदैन।’

 

आगामी महाधिवेशनलाई नेतृत्व चयनमा केन्द्रित गर्दै सहमतिको यथासम्भव प्रयास गर्न सबैलाई उनले आग्रह गरे। सहमति हुन नसकेमा स्वस्थ, मर्यादित र लोकतान्त्रिक अभ्यासमार्फत प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाई थियो।