म्यानमारको ‘अनलाइन स्क्यामिङ’ सेन्टरबाट ४७ नेपाली श्रमिकको उद्धार

 संवाददाता    २०८२, २५ मंसिर बुधबार १५:५९     114 जनाले पढ़िसके



Spread the love

म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ ।

थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो । उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ४०२ मार्फत नेपाल फर्काइँदै छ ।

उद्धार गरिएका व्यक्तिमध्ये विभिन्न २६ जिल्लाका ४७ जना रहेका छन् जसमध्ये ४५ जना पुरुष तथा २ जना महिला छन्। जसमा झापाका ५, सिन्धुपाल्चोक ३, उदयपुर ३, रुपन्देही ३, गोरखा ३, धादिङ ३, दाङ २, महोत्तरी २, मोरङ २, नवलपरासी २, नुवाकोट २, स्याङ्जा २, तनहुँ २ र चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रेपलाञ्चोक, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमका एक/एक जना रहेका छन्।

47 Nepali workers rescued from ‘online scamming’ center in Myanmarम्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र ।

उमेर समूहका हिसाबले एक जना १७ वर्षको, २० वर्षदेखि २५ वर्ष उमेर समूहका २६ जना, २६ वर्षदेखि ३० वर्षको उमेर समूहका १० जना, ३१ देखि ३५ वर्ष उमेर समूहका ८ जना, ४० वर्षको एक जना र ४१ वर्षको एक जना रहेका छन्। उनीहरू स्क्यामिङ केन्द्रहरूमा दुई महिनादेखि १८ महिनासम्म आबद्ध भएको देखिएको दूतावासले जनाएको छ ।

दूतावासका एक अधिकारीका अनुसार म्यानमारको सेनाले छापा मारेर नेपाली श्रमिकहरूलाई ती केन्द्रहरूबाट उद्धार गरेको हो । दूतावासले मंगलबार थाइल्यान्डको टाक प्रान्तस्थित मेसोट अध्यागमन कार्यालयबाट उनीहरूको जिम्मा लिई नेपाल पठाएको थियो । नेपालीलाई लिन दूतावासको टोली थाइल्यान्ड–म्यानमार सीमा क्षेत्रमा पुगेको थियो ।

उद्धार गरिएका नेपालीहरूले आफूहरू अनलाइन ठगीमा संलग्न गराइएको कुरा काम थालेको करिब तीन महिनापछि मात्र थाहा पाएको बताएका छन् । तीमध्ये अधिकांश आईटी क्षेत्रमा दक्ष रहेको जनाइएको छ ।