बैंकलाई नाफा बढाउन सहज बनाएका छौँ : गभर्नर

 संवाददाता    २०८२, २३ मंसिर सोमबार १३:१४     85 जनाले पढ़िसके



Spread the love

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले वित्तीय संस्थाहरूलाई नाफा बढाउन सहज बनाएको राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बताएका छन् । बैंकहरूको आर्थिक गतिविधि चलायमान बनाउन नीतिगत परिमार्जन भइरहेको उनले बताए ।

 

 

‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वित्तीय संस्थाहरूको नाफा बढाउन सहज बनाएका छौँ । महानगरमा रहेका धेरै बैंकहरूका शाखा बन्द गर्ने बाटो खोलिदिएका छौँ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ध्यान दिइरहेका छौँ । सबैको गुनासो हेरेर हामी अगाडि बढ्ने गरेका छौँ ।’

 

 

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले आन्दोलनका नाममा निजी क्षेत्रमाथिको आक्रमण गलत भएको बताए । ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनाताको पनि हो । निजी क्षेत्रले निश्चित समयपछि छाड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ,’ उनले भने ।

 

यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले अहिले केही विदेशी लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए । ‘१७ सय अर्बबराबरका प्रोजेक्ट पाइपलाइनमा छन् । केही लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । तर, हालसम्म लगानी गर्न चाहेका लगानीहरूले हात झिक्छौँ भनेका छैनन्,’ उनले भने ।

 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रविना आर्थिक गतिविधि सुदृढ हुन नसक्ने बताए । त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले वित्तीय प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठुलो चुनौती रहेको बताए ।

 

नाफिजको पहिलो फेलोसिप नयाँ पत्रिकाकर्मी बमलाई

‘श्रवणकुमार अग्रवाल–नाफिज फेलोसिप’ नयाँ पत्रिकाका यम बमलाई प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारणसभामा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ५० हजार राशिको फेलोसिपको प्रमाणपत्र प्रदान गरेका हुन् ।

 

यस्तै, एक लाख राशिको ‘शारदा–ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’ क्लिकमाण्डु डटकमका रोबिन पौडेललाई, ५०–५० हजार राशिको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २०८२’ क्यापिटल नेपाल डटकमकी कमला भण्डारी र ‘सिबिफिन–नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’ टक्सार म्यागजिनकी अम्बिका शर्मालाई प्रदान गरिएको छ । साधारणसभामा नाफिज जर्नल ‘अर्थतन्त्रको उन्नयन’ विमोचन गरिएको छ ।