मोरङमा बालिका हत्याको २ महिनापछि आरोपित पक्राउ

 संवाददाता    २०८२, २२ मंसिर आईतवार १३:५९     177 जनाले पढ़िसके



Spread the love

मोरङमा बालिका हत्याको २ महिनापछि प्रहरीले आरोपितलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार मोरङको लेटाङ नरपालिका-२ फडानीका ५८ वर्षीय पदबहादुर अधिकारीलाई प्रहरीको टोलीले आइतबार नियन्त्रणमा लिएको हो।

स्थानीय नवीन गौतमकी १२ वर्षीया छोरीको बीभत्स हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ती बालिका गत असोज २१ गते घरबाट हराएकी थिइन्।

त्यसपछि खोजतलासका क्रममा उनी कात्तिक ७ गते लेटाङ नगरपालिकाकै वडा नम्बर २ मै रहेको बेलवारी चिसाङ सामुदायिक वनमा क्षतविक्षत अवस्थामा फेला परेकी थिइन्।

बरामद भएका कपडा, हाफ पाइन्ट, चप्पल र घडीका आधारमा उनको पहिचान भएको थियो।

अनुसन्धानको सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरो, कोसी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले अधिकारीलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।